इङ्ल्यान्डका पूर्वकप्तान एलन सियररले यस सिजनको अन्त्यसम्ममा आर्सनलले इङ्लिस प्रिमियर लिगको हैसियत जोगाइराख्नेमा आफू ढुक्क नभएको बताएका छन्। सन् १९७४–७५ सिजनकै सर्वाधिक खराब प्रदर्शन गर्ने क्रममा आर्सनल लिगको १५औं स्थानमा छ। आर्सनलले १४ खेलमा मात्र १४ अंक जोडेको छ। यस क्रममा टोलीले ८ हार बेहोरेको छ। ‘म ढुक्क छैन,’ सियररले भने, ‘टोलीले गरेको खराब सुरुआत र केही खेलाडीमा भएको हारको मानसिकताले दुबिधा बढाएको छ।’
शनिबार गुडिसन पार्कमा भएको खेलमा आर्सनल एभर्टनसँग २–१ ले पराजित भएको थियो। यस हारसँगै मिचेल अर्टेटाको टोली रेलिगेसन क्षेत्रभन्दा मात्र ४ अंकले माथि छ। पछिल्लो ५ खेलमा आर्सनलले सेट पिसमा बाहेक गोल गर्न सकेको छैन। शनिबार पनि क्लबमा कीर्तिमानी ७२ मिलियन युरोमा भित्रिएका निकोलास पेपेले पेनाल्टीमा गोल गरेका थिए। जारी लिगमा यो उनको मात्र दोस्रो गोल हो। एभर्टनका लागि भने यरी मिनाले एक गोल गरेका थिए भने आर्सनलका रब होल्डिङले आत्मघाती गोल गरेका थिए।
‘खेल लज्जास्पद, गोलको अवसर सिर्जना गरिएन। खेलाडीमा धैर्य र मिहिनेत केही देखिएन,’ उनले भने, ‘मिचेल अर्टेटा अब आफ्ना खेलाडीले अझै राम्रो प्रदर्शन गर्छन् र उनीहरूको प्रदर्शनमा आफ्नो प्रशिक्षक पद जोगिन्छ भन्ने भ्रममा नबसून्।’ ‘क्लबले जारी सिजन मात्र १२ गोल गरेको छ। यसले टोलीमा रहेका खेलाडीको क्षमतामा प्रश्न उठ्छ। एभर्टनविरुद्ध पनि पेपे डी बक्समा छिर्न सकेका थिएनन्। उनले आफ्नो स्थानलाई न्याय दिन सकेका थिएनन्,’ सियररले भने, ‘टोलीमा यस्ता केही खेलाडी छन्, जसले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्। आर्सनलले गोल गर्न नै बिर्सिएको जस्तो भएको छ।’यता अर्टेटाले भने आफूहरू ठूलो युद्धमा रहेको र खेलाडीहरू त्यसको पीडामा रहेको बताए।
‘हामीले खेल जित्न धेरैभन्दा धेरै सुधारिएको प्रदर्शन गर्न आवश्यक छ,’ अर्टेटाले भने, ‘खेलाडीहरूले मिहिनेत गरिरहेका छन्, मात्र नतिजा हाम्रो पक्षमा आइरहेको छैन। खेलाडीले अझै आत्मविश्वास गुमाएका छैनन्। जब टोलीले लगातार धेरै खेल गुमाउँछ, त्यसले खेलाडी र समग्र टोलीलाई पीडा दिन्छ।’
‘हामीले राम्रोभन्दा राम्रो प्रदर्शन गर्न आवश्यक छ। एभर्टनले आज कस्तो खेल्यो, त्यसले हामीलाई कुनै अर्थ राख्दैन,’ अर्टेटाले भने, ‘हामीले उनीहरूविरुद्ध कस्तो प्रदर्शन ग¥यांै, त्यसले विशेष अर्थ राख्छ।’प्रिमियर लिगअन्तर्गत शनिबार भएको अर्को खेलमा न्युक्यासल युनाइटेड र फुलह्यामले १–१ को बराबरी खेले।
स्व्रोत: नागरिक