ओलाङचुङगोलामा यसै वर्ष स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा पुगेका धेरै जनाले हिमाली क्षेत्रको अनुभव यसपटक गर्न पाए । गत शुक्रबार र शनिबार हिमपात भयो । सशस्त्रका जवानहरुले फोटो खिचाए र सामाजिक सञ्जालमा पोस्ट गरे । तराईबाट पुगेका अधिकांशले हिउँको अनुभव सँगालेका थिए । आधा वर्ष हिउँ र चिसो हुने भएकाले यहाँ खटिने कर्मचारीका लागि सरकारले दुर्गम भत्ताको व्यवस्था गरेको छ । यहाँ जाने कर्मचारीको मनस्थिति अधिकांश समय हिउँ पर्छ र चिसो हुन्छ भन्ने पनि छ । अघिल्ला वर्षलाई नियाल्ने हो भने यहाँ कात्तिकदेखि नै अलिअलि हिउँ झर्न थाल्छ । मंसिरदेखि विद्यालयहरू पनि बन्द हुन्छन् ।
लेलेप घुन्साका डन्डु शेर्पाले हिउँ छल्नका लागि एक महिनाअघि बस्ती छाडे । परिवारसहित काठमाडौं पुगेका उनको फर्कने समय भएको छ । फागुनदेखि गाउँको विद्यालय खुल्ने, विदेशी पर्यटक आउन थाल्ने भएकाले उनले गाउँ फर्कने सुरसारमा छन् । फागुनदेखि सुरु भएर चैत र वैशाखमा पर्यटक आउने भएकाले त्यसको व्यवस्थापन अगाडि नै मिलाइन्छ । गाउँको मान्यता माघसम्ममा हिउँ परिसक्छ र फागुनदेखि न्यानो पलाउन थाल्छ भन्ने हो ।
तर शुक्रबार र शनिबार परेको हिउँ बाहिरबाट जानेका लागि अनौठो भए पनि स्थानीयका लागि ‘छर्को’ मात्रै भएको छ । घुन्साका सोनाम शेर्पाले भने, ‘हिउँ त खोइ, अलिअलि छार्को (छर्को) मात्रै पर्यो ।’ अन्त परेर हावाले अलिअलि उडाएर ल्याएकालाई यहाँ छार्को भनिन्छ ।
ओलाङचुङगोलाका छेतेन वालुङ शेर्पाका अनुसार यसरी एकाध घण्टा अलिअलि परेकालाई हिमाली बस्तीमा हिउँ परेको मानिदैन । ‘बाहिरबाट जानेका लागि, पहिलो पटक देख्नेका लागि त हउँ पर्यो भन्ने हुन्छ, हामीलाई त यस्तो हिउँ खासै हुँदैन,’ उनले भने । छेतेनको अनुभवमा हिउँ पर्दा घरको आधाजति भाग पूरै पुरिन्छ । धारा, खोलाहरू हिउँले छोप्छ । घरको बलेसीको हिउँ त कोदालो, फर्माले खनेर बाहिर फाल्नुपर्छ ।
हिउँलाई उघाएर प्रत्येक दिन पानी बनाउनुपर्छ । त्यही पानी पिउन र खाना बनाउन प्रयोग गर्नुपर्छ । हिउँ पर्न थालेपछि चौंरीहरू एकै ठाउँमा भेला भएर गोलो लागेर बस्छन् । पर्न छाडेपछि बाहिर निस्कन्छन् । ‘यो वर्ष त्यो खालको हिउँ परेको छैन । परेकै एकाध घण्टा, बेलुका परेको बिहान बिलाउने खालको भएको छ,’ छेतेनले थपे । यत्तिको पनि बल्ल माघ अन्तिममा परेको उनले सुनाए ।
हिउँ छल्नका लागि ओलाङचुङगोलाको याङमाका बासिन्दा प्रत्येक वर्ष चेने भन्ने स्थानमा झर्छन् । आफूले उब्जाएको आलु चौंरीलाई बोकाएर झर्छन् । औलका बासिन्दासँग अन्नमा साट्छन् र हिउँ सकिएपछि फर्कन्छन् ।
स्व्रोत: कान्तिपुर