पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभा भाँडिएको हो । यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत माघ १७ गते छलफल भएर टुंगोमा पुग्न लागेको थियो । भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीनवटा पालिका बनाउन प्रस्ताव गरियो ।
हालको केन्द्रलाई नै केन्द्र मान्ने गरी उत्तरगंगा, कोल र जाङको क्षेत्र मिलाएर जामाबगर केन्द्र बनाउने गरी सुनगुफा र हुकाम र मैकोटको केन्द्र गरघाट हुने गरी पुथा गाउँपालिका प्रस्ताव गरिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यसमेतको समर्थनमा गाउँपालिका टुक्र्याउने प्रस्ताव गरिएको हो ।
तेस्रो गाउँपालिका बनाउने प्रस्ताव आएपछि गाउँसभा अनिर्णीत बनेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । ४५ दिनभित्र विशेष गाउँसभा गर्ने र त्यसैबाट थप गाउँपालिकाको सिफारिस गरिने अध्यक्ष घर्तीले बताए ।
गाउँपालिका टुक्र्याउनेबारे विवाद बढेपछि आयोग बनाउन छलफल भएको छ । वडा मिलाउने र सीमारेखा पनि अनुकूल हुने गरी सिफारिस गर्न कार्यपालिकाले आयोग बनाउने तयारी गरेको हो ।
पुथाउत्तरगंगा–१२ का वडाध्यक्ष गंगबहादुर पुन मगरले गाउँपालिका भूगोलमा ठूलो भएपछि सबैले सेवा प्रवाहमा असहज महसुस गरेको बताए । ‘असजिलो भएको महसुस जनतादेखि हामी सबैलाई भएको थियो,’ उनले भने, ‘सकेसम्म पायक र नजिक स्थानीय तह हुनुपर्छ भनेर गाउँपालिका टुक्र्याउन छलफल भएको हो ।’ गाउँसभा माघ १५ गते सुरु भएर १७ गते स्थगित भएको थियो ।
रुकुम पूर्वका तीन स्थानीय तहमध्ये पुथाउत्तरगंगा सबैभन्दा ठूलो हो । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गाविस मिलाएर यो गाउँपालिका बनाइएको थियो । यसमा १४ वडा छन् ।
जिल्लाबाट पुथा र उत्तरगंगा गाउँपालिका भनेर सिफारिस गरिए पनि माथिबाट एक भएर आएको थियो । पुथा यहाँको अग्लो हिमाल हो भने उत्तरगंगा नदी । माथि उत्तरगंगा नामबाट चिनिने नदी तल आउँदा सानीभेरी र पछि ठूलीभेरी हुँदै भेरी नदीका नाममा प्रख्यात छ ।
स्व्रोत: कान्तिपुर