नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षधर, प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रस्तरका विरोध र समर्थनका कार्यक्रम गरिरहेका छन्। ती कार्यक्रममा टाढाटाढाबाट कार्यकर्ता ओसार्न, स्टेज तयार गर्न, झण्डा बनाउन, माइक, पानी, स्टेशनरी, खाना, प्रचारप्रसारलगायतमा ठूलो खर्च हुने गरेको छ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बुधबार काठमाडौँमा भएको विरोधसभामा २०० वटा ठूला बस र ठूलै सङ्ख्याका साना गाडीमा कार्यकर्ता गएको बताए। यसअघि माघ ९ गते ८० वटा बस र पुस १४ गते ४९ वटा बस कार्यकर्ता बोकेर काठमाडौँ गएको उनको भनाइ छ। यी कार्यक्रममा साना गाडी पनि ठूलो सङ्ख्यामा गएका थिए।
एउटा बसले चितवनदेखि काठमाडौँसम्म जाँदा आउँदा रु २५ हजार हाराहारी भाडा लिने गर्दछन्। नेता कार्यकर्तालाई बाटोमा खाजा, खाना, पानी पनि ठूलै खर्च हुने गर्दछ। यस्तै झण्डा र ब्यानरमा पनि खर्च हुने गरेको छ। परियारले पार्टीभित्रकै नेता कार्यकर्ताबाट आर्थिक सङ्कलन गरेर खर्च जुटाउने गरेको बताए। उनका अनुसार कतिपय कार्यकर्ता आफैँले खर्चको व्यवस्थापन गर्ने गरेका छन्।
यस्तै नेपाली कांग्रेस चितवनले यस बीचमा वडादेखि जिल्ला तहसम्मका विभिन्न विरोध कार्यक्रम गरेको छ। सभापति जीतनारायण श्रेष्ठका अनुसार मङ्सिर २९ गते जिल्ला तहको, पुस १३ गते क्षेत्रीयस्तरको, पुस २५ गते प्रदेशस्तरको, माघ ३ गते नगरस्तरको र माघ ८ गते वडास्तरको विरोध कार्यक्रम सम्पन्न भइसकेका छन्।
फागुन ३ गतेको विरोधसभाको तयारीमा रहेको उनले जानकारी दिए। ती सबै कार्यक्रममा झण्डा, माइकिङ, अन्य प्रचारप्रसार, स्टेजलगायतमा निकै खर्च हुने गरेको श्रेष्ठको भनाइ छ। उनका अनुसार जिल्लास्तरमा एउटा कार्यक्रम गर्दा रु एक लाखदेखि दुई लाखसम्म खर्च हुने गरेको छ। यस्ता कार्यक्रममा वडास्तरबाट सहयोग जुटाएर कार्यकर्ता बसमा समेत ल्याउने गरिएको छ।