१३ फागुन २०७७
काठमाडौं : सर्वोच्च अदालतले मंगलबार (फागुन ११) प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सत्ता समीकरणका लागि दौडधुपमा छन्। बुधबार बिहानै चितवनबाट काठमाडौं आएपछि प्रचण्ड र नेपालले दौडधुप सुरु गरेका हुन्।
बुधबार बिहान चितवनबाट काठमाडौं आएलगत्तै प्रचण्ड र नेपालले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा नेताहरूसँग सामान्य परामर्श गरी बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।
त्यसपछि प्रचण्डले पेरिसडाँडामै पुगेर जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका थिए। त्यसपछि दाहाल-नेपाल पक्षको स्थायी समिति बैठक बसेको थियो। त्यसपछि भने संसद् भवनमा यो पक्षको दलको अनौपचारिक बैठक बसेको थियो। उक्त बैठकले पनि ओलीको राजीनामा माग गरेको थियो।
यही शृङ्खला बिहीबारसमेत निरन्तर चल्यो। बिहानै नेकपा उपाध्यक्ष वामदेव गौतमसँग प्रचण्डले लामो छलफल गरे। त्यसपछि पार्टी कार्यालय पेरिसडाँडामा जसपाका नेता श्रेष्ठकै पहलमा महन्थ ठाकुर र राजेनद्र महतोसँग प्रचण्ड र माधवकुमार नेपालसँग् भेट गराए। डेढ घण्टा लामो भेटमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित भएको छ।
पेरिसडाँडामा भएको छलफलमा नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले सत्ता समीकरणमा साथ दिन सजपा नेतालाई आग्रह गरे। प्रचण्ड र नेपालले यस्तो आग्रह गरेपछि जसपा नेताहरुले भने नेकपा आधिकारिकताको प्रश्न गरेका छन्। नेता महन्थ ठाकुरले छलफलका क्रममा नेकपाको आधिकारिकताबारे प्रश्न गरेका हुन्। उनले आधिकारिकताको विषय टुंगो नलाग्दासम्म सहकार्य गर्न सक्ने अवस्था नहरेकोसमेत प्रष्ट पारेका छन्।
‘तपाईंहरुको पार्टी कुन हो ? पहिला तपाईंहरु पार्टीको टुंगो लगाउनुहोस्’, छलफलमा सहभागी राजेन्द्र महतोले महन्थ ठाकुरको भनाइ उद्धृत गर्दै भने, ‘नेकपाको आधिकारिताको विषय टुंगो नलाग्दासम्म सहकार्य हुन सक्ने अवस्था हुँदैन।’ प्रचण्ड र नेपालले सत्ता समीकरणमा साथ दिन आग्रह गरेपछि जसपाका नेताहरुले पार्टी नभएसम्म सरकार बनाउन नसकिने भन्दै यस्तो प्रश्न गरेका हुन्।
नेता महतोले सत्ता समीकरणको विषयमा पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने तर त्यसअघि पार्टीको आधिकारिताको विषय टुंगो लाग्नुपर्नेमा जोड दिएको बताए। छलफलपछि पत्रकारसँग कुरा गर्दै महतोले भने, ‘पहिला पार्टी चाहियो। यो विषय राखेका छौँ। उहाँहरुको कुरा सुनेपछि हाम्रो पार्टीको बैठकमा छलफल गरेर जानकारी दिने बताएका छौँ।’
छलफलमा प्रचण्ड र नेपालले भने आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गरेका छन्। आफूहरु बहुमत भएको भन्दै प्रचण्ड र नेपालले आधिकारिक आफूहरु नै भएको तर्क अघि सारेका हुन्। जसपाका नेताहरुले ओलीको प्रतिगमन सच्चिए पनि संविधान संशोधनको विषय अझै ओझेलमा परेको विषयसमेत उठाएका छन्।
जसपा नेताले नेकपा आधिकारिकताको विषयमा प्रश्न उठाउँदै गर्दा बिहीबार नै सर्वोच्च अदालतमा नेकपा पार्टी नाम विवादमाथि परेको रिटको सुनुवाइ हुँदैछ। ऋषि कट्टेलको समेत नेकपामा आफ्नो दाबी छ। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नु अगाडि नै आफ्नो नेतृत्वमा नेकपा रहेको भन्दै कट्टेलले दाबी प्रस्तुत गरेका हुन्।
नेकपामाथि चौतर्फी रुपमा वैधानिकताको प्रश्न उठेपछि सर्वोच्च अदालतमा परेको रिट निवेदनमा बिहीबार सुनुवाइ भइराखेको छ।
ऋषि कट्टेलले नै नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस जारी छ।
स्राेतः अन्नपुर्ण पाेष्ट