काठमाडौं । दुई रोपनी जग्गामा तरकारी खेती गरेका काभ्रेका पाँचखाल–३ का सुभाष लुइँटेलको बारीमा अहिले हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले बारीबाट तरकारी टिपेर एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पार्दा आफ्नो तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन । उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १०० देखि ११० रुपैयाँमा बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०/४० रुपैयाँ थमाउँछन् ।
किसान सुभाष लुइँटेल भन्छन्, ‘बजारमा जति मूल्य भए पनि किसानले ३० देखि ४० रुपैयाँभन्दा बढी पाउँदैनन् । बजारमा तरकारीको मूल्य जति वृद्धि भए पनि किसानले २५ प्रतिशतभन्दा बढी कसैले पाएको हुँदैन । सबै बिचौलियाले लिने गरेका छन् ।’ किसानहरूले बिचौलियासँग बजारको मूल्य हेरेर कहिलेकाहीँ कुरा पनि गर्छन् तर बिचौलियाको ‘रेडिमेड’ जवाफले उनीहरू मर्माहत हुन्छन् । बिचौलियाको रेडिमेड जवाफ हुने गरेको छ, ‘तिमीहरूले उत्पादन गरेको तरकारी तिमीहरू नै राख ।’