भन्सार परिसरबाट नै अवैध रूपमा सामान भित्र्याउने भन्सार एजेन्ट कृष्ण थापा र सामान आयात गर्ने फर्म पूर्ण कृष्ण ट्रेडर्सलाई विराटनगर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको छ । उक्त फर्म प्रयोग गरेर गैरएजेन्ट राजकुमार रौनियार र लक्ष्मण रौनियारले भारतवाट कपडा आयात गर्ने र एजेन्ट थापाले सामानको भन्सार महसुल नतिराई भन्सार विन्दुवाट नै अवैध रूपमा छिराउँदै आएको पुष्टि भएपछि कारबाही गरिएको हो । प्रमुख भन्सार अधिकृत शिव भण्डारीले उनलाई दुई महिनाको लागि निलम्बन गरेको भन्सार अधिकृत अमित तिवारीले बताए ।
गैरएजेन्ट राजकुमार रौनियारले गत वैशाखमा एउटै प्रज्ञापनपत्रमार्फत दुई पटक गरी १८–१८ लाख मूल्यका लत्ता कपडा भारतबाट आयात गरेर भन्सार महसुल नतिरी भारतीय नम्बर प्लेटको बीआर ३८ जिए २६०६ पिकअप भ्यान मार्फत भन्सार कटाउँदा प्रहरीले पक्राउ गरेको थियो । उक्त दुई ट्र्याक्टर लत्ता कपडा भन्सार महसुल नतिरी बाहिर निकाल्न एजेन्ट थापाले मद्दत गरेको भन्सारको ठहर छ । यसअघि भन्सार एजेन्ट देवकी शर्माले भन्सारको यार्डमा पार्किङ गरेर राखिएको एक ट्रक व्यापारिक सामान भन्सारै नतिरी बजार पुर्याएका थिए । कपडा आयात गर्दा प्रयोग गरिएको पिकअप भ्यान सहित प्रहरीले कपडा आयातकर्ता रौनियारसहित एजेन्ट थापालाई पक्राउ गरेर भन्सार बुझाएपछि तीनै जनाले ५५ लाख ९९ हजार ८ सय रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका थिए । उक्त घटनाको छानविन गर्न भन्सार कार्यालयले अधिकृत तेजमान काफ्लेको नेतृत्वमा टोली खटाएको थियो ।