२० असोज । मोरङको जिल्ला अदालतले सनम शाक्य हत्या वा ३३ किलो सुनकाण्डमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई जन्मकैदको फैसला दिएको छ ।
जिल्ला अदालतका न्यायधिश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैद, अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्र वीरजङ्ग राणाले जानकारी दिनुभयो ।
गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन प्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताउनुभयो । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको उहाँले जानकारी दिनुभयो ।