दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तरगत सन् २०२२ मा ६६ हजार विदेशी कामदार लैजाने भएको छ । शुक्रबार बसेको विदेशी कामदार कोटा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि यो कोटा निर्धारण गरेको हो ।
कोरियाले नेपाल, पाकिस्तात, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गर्छ । सन् २०२२ को लागि उत्पादनमूलक क्षेत्रमा ४३ हजार, कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३० जना विदेशी कामदार कोरिया जान पाउने छन् । माछापालन क्षेत्रमा ४ हजार ६ सय ४० जना तथा निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना विदेशी कामदार कोरिया जाने छन् । त्यस्तै सेवा क्षेत्रमा २ सय ६० जना विदेशी कामदार लैजाने निर्णय गरेको छ ।
उक्त कोटामध्ये कोरियाली भाषा पास गरेर बसेका नयाँ कामदारको रुपमा ४२ हजार ५ सय ३० जना र २३ हजार ४ सय ७० कमिटेड (प्रतिबद्ध कामदार) कामदारको रुपमा कोरिया जान पाउने छन् । यस्तै एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा लैजान सक्ने नियम रहेको छ । नेपालबाट कोरोना महामारीभन्दा पहिले बर्सेनि ५ हजारभन्दा बढी कामदार कोरिया जाने गरेका थिए ।
यो वर्ष ५२ हजार कामदार कोरिया लैजाने योजना भए पनि कोरोना महामरीका कारण सम्भव नभएकोले सन् २०२२ का लागि विदेशी कामदारको कोटा बढाएर ६६ हजार पुर्याएको हो । गत वर्ष पनि ५६ हजार कोटा निर्धारण गरिएकोमा ३० हजार कामदार मात्रै कोरिया गएका थिए । यस्तै तत्कालको लागि कामदारको अभाव नहोस् भनेर जनवरी १ देखि अप्रिल १२ तारिखसम्म भिसा अवधि सकिन लागेका विदेशी कामदारहरूलाई थप १ वर्ष बस्न दिने निर्णय गरेको कोरियाली श्रम मन्त्रालयले जनाएको छ ।