९ पुस । इन्डो–नेपाल रेल सेवा अंग्रेजी नयाँ वर्ष अर्थात् सात दिनपछि सुरु गर्ने तयारी भएको छ। टाइम्स अफ इन्डियाका अनुसार भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.५ किमि रेलसेवा जनवरीदेखि सुरु हुन सक्ने भएको हो। उक्त रेल नेटवर्कलाई जयनगर–कुर्था, कुर्था–बिजिलपुरा र बिजिलपुरा–बर्दिबास गरी तीन चरणमा सम्पन्न गर्ने जिम्मा इर्कोन इन्टरनेशनल लिमिटेडले पाएको छ। यसभित्र ६८ किमि दूरी पर्छ।
ईसीआरका प्रमुख जनसम्पर्क अधिकृत (सीपीआरओ) राजेश कुमारले जयनगर–कुर्था रेलसेवा पूर्ण तयार भइसकेको बताए। नेपालले भारतीय कम्पनी कोंकण रेलवेबाट दुईवटा रेल नेपाललाई गत वर्ष नै हस्तान्तरण गरिसकेको छ। जयनगर–कुर्था ट्राकको परीक्षण समेत सम्पन्न भइसकेको छ। जयनगर–कुर्था रेल सञ्चालनमा आएपछि दुवै देशको टोलीले कुर्था–बिजिलपुरा ट्राकको अनुगमन र उच्च गतिको रेल सञ्चालन गरेर परीक्षण गर्नेछन्।
तेस्रो फेजमा बिजिलपुरादेखि बर्दिबाससम्म १७ किमि रेल ट्राक बन्नेछ। तर यसका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गर्नै बाँकी छ। सोही कारण नयाँ रेल लाइन र स्टेसन भवन निर्माणको काम हुन सकेको छैन। जयनगरदेखि बर्दिबाससम्म रेल चल्दा भने ८ स्टेसन हुनेछन् भने ६ ठाउँमा रेल रोकिनेछन्।
सन् २०१८ अगस्टमा नेपाल र भारतबीच भएको सम्झौता अनुसार यो परियोजनाको अनुमानित लागत ७ अर्ब ८७ करोड भारु हुने भारतीय विदेश मामिला मन्त्रालयले बताएको टाइम्स अफ इन्डियाले जनाएको छ।