सर्लाही । माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ।
लामो समयदेखि बर्सेनि व्यावसायिक तरुल खेती गर्दै आएका बागमती नगरपालिका–५ राजघाटका यम कुमार मगरले माघे संक्रान्तिमा बिक्री गर्दा तरुलले राम्रो भाउ पाउने बताउछन्। गत वर्ष ३५ देखि ४० रुपियाँ किलोमा बिक्री गरेको तरुल यसवर्ष ५० देखि ५५ रुपैयाँसम्ममा बिक्री गर्न पाएको उनको भनाइ छ।
किसानहरूले उत्पादन गरेको तरुल लिन ठेकेदारहरू खेतबारीमै पुगेका छन्। लामो समयदेखि तरुल खेती गर्दै आएका बागमती–८ शंकरपुरका जग बहादुर महतोले यस वर्ष १० कठ्ठा जमिनमा तरुल खेती गरेका छन्। उनले व्यापारीलाइ प्रतिकठ्ठा २५ हजारमा खेतबाटै बेचेका छन्। खर्च कटाएर प्रतिकठ्ठा १८ देखि २० हजार आम्दानी भएको बताए।
तरुल खेती गर्दा जमिन हेरेर बिउ, खनजोत, खाद मल र गोडमेल समेत गरेर ७ देखि १० हजार प्रतिकठ्ठा लगानी हुने किसानहरूको भनाइ छ भने यस सिजनमा प्रति कठ्ठा २८ देखि ३० हजार सम्म आम्दानी हुने किसानहरूको अपेक्षा छ। राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा ८ देखि १० क्विन्टलसम्म उत्पादन हुने गरेको छ। यस क्षेत्रमा झुसे (पाताले) र रातो तरुलको खेती हुँदै आएको छ।
यस वर्ष बढी वर्षात भएका कारण तरुल उत्पादनमा कमी आउने किसानहरूले बताएका छन्। यहाँ उत्पादन भएको तरुल काठमाडौं, पोखरा, नारायणगढ, धनगढी, नेपालगंज लगायत देशका प्रमुख शहरहरूमा निर्यात हुने व्यापारी बताउँछन्।
सर्लाहीमा मात्र यस वर्ष २ सय ८५ हेक्टर क्षेत्रफलमा तरुल खेती भएको जिल्ला कृषि ज्ञानकेन्द्र मलंगवाका प्रमुख कमल देव कुशवाहाले जानकारी दिए। सर्लाहीमा प्रत्येक वर्ष ५ सय टनको हाराहारीमा तरुल उत्पादन हुने गरेको छ।