पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद मोहम्मद इस्तियाक राईले कृषि व्यवसाय सुरू गरेका छन्। उनले नेपालगञ्जमा कुखुरा पालन, दाना उद्योग र कुखुराका चल्ला उत्पादन गर्ने उद्योग सुरू गरेका छन्।
यो व्यवसायमा पूर्वमन्त्री राई र उनका ५ दाजुभाइ सहभागी छन्। राईले किसान फिड मिल प्रालि, राज ग्रुप्स प्रालि र आरहाम ह्याचरिज प्रालि गरी तीन कम्पनीमार्फत् काम सुरू गरेका छन्। राज ग्रुप्स प्रालिले २० करोड लगानीमा कुखुरा पालन सुरू गरिसकेको छ।
त्यस्तै किसान फिड मिल प्रालिले दाना उत्पादन गर्छ। यसको लागि ६५ करोड लगानी भएको छ। नेपालगन्जलाई दानामा आत्मनिर्भर बनाउने उद्देश्यले काम सुरू गरेको राईले बताए। कृषि मन्त्री महिन्द्र राय यादवले उद्योगको उद्घाटन गरेका छन्। ‘यो क्षेत्रमा भारत तथा अन्य क्षेत्रबाट दाना आउँछ। किसान फिड मिल प्रालिले उत्पादन गर्ने दानाले कुखुरा, आहार र माछाको दानामा परनिर्भरता अन्त्य गर्छ,’ राईले भने, ‘हाम्रो उद्योगबाट १०० क्विन्टल दाना उत्पादन हुन्छ भने ९० हजार क्विन्टल गोदामको क्षमता बनाइसकेका छौं।’
३५ करोड लगानीमा स्थापना हुने आरहाम ह्याचरिज प्रालिले ६ महिनामा उन्नत जातको चल्ला उत्पादन सुरू गर्ने राईले बताए। थाइल्याण्ड र मलेसियाबाट कुखुरा ल्याएर अण्डा उत्पादन गर्ने र त्यसबाट चल्ला उत्पादन गर्ने उनको भनाइ छ।
व्यवसायका लागि हिमालयन बैंकको ८० प्रतिशत लगानी रहेको उनले जानकारी दिए। ५ करोडसम्मको कृषि ऋणका लागि ५ प्रतिशत र ५ करोड भन्दा माथिको कर्जामा राज्यले २ प्रतिशत छुट समेत दिएको छ।
२०६४ र २०७४ को निर्वाचनमा बाँकेबाट निर्वाचित राई २०६८ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा श्रम मन्त्री भएका थिए भने २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेका थिए।
राईको परिवार २०३८ सालदेखि नै व्यापारमा संलग्न थियो। उनका हजुरबाले राइन राइस मिल सञ्चालन गरेका थिए। राई आफू भने २०५६ सालदेखि व्यवसायमा छन्। नेपालमा ई-रिक्सा आफैंले भित्र्याएको उनले दाबी गरे। ‘म अरू व्यवसायमा पहिले पनि थिएँ। औद्योगिक क्षेत्रमा भने पहिलो अनुभव हो। राजनीति सेवा हो भने व्यापार, व्यापार नै हो,’ उनले भने, ‘राजनीतिलाई कमाइ खाने भाँडो बनाउनबाट जोगाउन एउटा प्रयास गरेको छु। यसमार्फत् रोजगारीको वातावरण पनि श्रृजना हुन्छ भन्ने अपेक्षा छ।’