चलचित्र बिकास बोर्डले राजु गिरी प्रोडक्सन प्रा. लि. लाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र निर्माण गर्न इजाजतपत्र दिएको छ । बोर्डका निर्माण अधिकृत हरिसिंह रैखोलाले उक्त पत्र अनुसूची—५, नियम ४ को खण्ड (क)सँग सम्बन्धित भएर दिएका हुन् ।
यो कथानक चलचित्रका रचनाकार उमेश कुमार बस्नेत तथा निर्देशक राजु गिरी छन् । गितकार हेमाङ्क राज गिरी र मुख्य कलाकारहरु इशक शर्मा, बिनिता क्षेत्री, शुभेच्छा थापा आदि छन् । नेपालभर छायाङ्कन गर्न सकिने उक्त चलचित्र निर्माणको अवधी ३ वर्षसम्म रहने र कूल लागत ३६ लाख हुने अनुमान छ ।
इजाजतपत्र प्राप्त व्यक्तिले राष्ट्रिय सम्मान, संस्कृति, परम्परा वा धार्मिक मान्यतामा आघात पर्ने गरी चलचित्र निर्माण नगर्ने शर्तहरु पालना गर्नुपर्ने उल्लेख गरिएको छ । चलचित्र निर्माण हुँदा भएका खर्च, संलग्न कलाकार आदि खुलाई छायाङ्कन समाप्त भएको मितिले ३५ दिनभित्र मन्त्रालय समक्ष पेश गर्नुपर्ने व्यवस्था पनि समावेश गरिएको छ ।