साढे २ किलोभन्दा बढी कोकिनसहित तीन जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ

नयाँ आवाज
३ जेठ २०८१ १५:१३

काठमाडौँ – प्रहरीले २ केजी ६५४ ग्राम लागुऔषध कोकिनसहित तीन जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बिहीबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक गाविन्द थपलियाले पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल रहेको जानकारी दिए।

उनका अनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ। पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ।

जेठ २ गते धोबिचौरबाट पक्राउ परेकी वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ। उनले पल भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबिचौर पुगेको बेलामा पक्राउ गरिएको बता ए।

प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले बरामद गरिएको कोकिनको बजार मूल्य ७ करोड ९६ लाख रहेको बताए। निजहरुउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया