हावाहुरीले सयौं घरमा क्षति, तीन जना घाइते

नयाँ आवाज
७ असार २०८१ १३:०३

बर्दिया — बुधबार राति आएका आँधी, हुरीले बर्दियाको गुलरिया नगरपालिकाका सयौं घरका छाना उडाएको छ । घर माथिको रुख ढल्दा तीनजना घाइते भएका छन् ।

हावाहुरीले सबैभन्दा बढी क्षति वडा नम्बर ७ को ५० प्रतिशत कच्ची घर क्षति भएको छ । वडा नम्बर ७ का अध्यक्ष मनोज यादवका अनुसार अधिकांश कच्ची घर क्षति भएको बताए । वडा नम्बर ७ मा करिब ३ हजार घरमध्ये अधिकांश कच्ची रहेको छ । अध्यक्ष यादवका अनुसार हावाहुरीले ७२ वर्षीय जाहुरा धोबी,७० वर्षीय कल्लु गोडियासहित तीनजना सामान्य घाइते भएका छन् । उनीहरू अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

राति नौ बजे आएको हुरीले सबैभन्दा बढी क्षति गुलरिया–७ मा भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बताए । हुरीले धेरै रुख ढालेको तर मानवीय क्षति नभएको उनले जनाए । धेरै ठाउँमा केरा बगैंचा र आँपको बोटमा हुरीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

हावाहुरीले रुख ढलेको र तार चुँडेका कारण बिहान १० बजेसम्म विद्युत् आपूर्ति हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण बर्दियाका प्रमुख नारायण अर्यालले विद्युतका करिब एक सय पोल ढलेको अनुमान गरिएको बताए । सदरमुकाम गुलरिया लगायत ठाउँमा विद्युत आपूर्ति सुचारु गर्ने काम भइरहेको उनले जनाए ।



प्रतिक्रिया