कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं। मोरङमा सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मंगलबार बिहान उपचारको क्रममा इन्सपेक्टर नवीन बुढाथोकीको मृत्यु भएको हो। उनी सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत थिए।

सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजु अर्यालका अनुसार कात्तिक २७ गते विराट मेडिकल कलेजमा बुढाथोकी भर्ना भएका थिए।

उच्च ज्वरो र श्वासप्रवासमा समस्या देखिएका उनलाई भेन्टिलेटरमा राखिएको थियो।  पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

मृतक बुढाथोकी तेह्रथुमको म्याङ्लुङका हुन्। २०६८ सालमा उनी सशस्त्र प्रहरी निरीक्षक भएका थिए।

सशस्त्र प्रहरीमा यसअघि कोरोना संक्रमणका कारण कसैले पनि मृत्युवरण गरेको थिएन।

Share post:

Recent