बेलायतले हङकङका बासिन्दाहरूलाई आफ्नो मुलुकमा बसोबास गर्न दिने नयाँ नियम लागू गरेको छ । त्यहाँ बसोबास गरिरहेका झन्डै ३ लाख मानिसले आवेदन दिन सक्ने अनुमान गरिएको छ । आइतबारदेखि लागू गरिएको नयाँ नियमअनुसार ब्रिटिस नेसनल ओभरसिज (बीएनओ) राहदानीबाहक तथा उनीहरूमा आश्रित सन्तानले द्रुतगतिमा ब्रिटिस नागरिकता प्राप्त गर्न सक्नेछन् ।
आइतबारदेखि खुला गरिएको विशेष भिसा योजनाको लाभ पहिलो ५ वर्षमा करिब ३ लाख जनाले लिने अपेक्षा गरिएको छ । यद्यपि, हङकङका २९ लाख नागरिक र करिब २३ लाख उनीहरूमा आश्रित परिवारका सदस्यहरू बेलायत आउन योग्य रहेका बीबीसीले जनाएको छ ।
चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि ब्रिटेनले नयाँ भिसा योजना सुरु गरेको हो । हङकङमा जुलाई १ देखि लागू गरिएको सुरक्षासम्बन्धी नयाँ कानुनमा पृथकतावाद, राज्यद्रोह, आतंकवाद र विदेशी शक्तिसँगको साँठगाँठजस्ता गतिविधिमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय दिन सक्ने प्रावधान छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हङकङमा बसोबास गर्ने नागरिकका आधारभूत स्वतन्त्रताबारे चासो व्यक्त गर्दै आएका छन् । जोन्सनले सुरुमा उनीहरूलाई बेलायतमा बस्न र काम गर्न पाउने अधिकार दिइने र ५ वर्षपछि नागरिकताका लागि आवेदन दिन सक्ने यसअघि नै घोषणा गरेका थिए । हङकङमा सन् १९९७ अघि रहेका नागरिकप्रति बेलायतको विशेष जिम्मेवारी र दायित्व रहने जोन्सनको भनाइ छ । तर, बेलायतको पछिल्लो कदमले चीन भने बेखुसी देखिएको जनाइएको छ ।
चीनले आफ्नो सार्वभौमिकता र आन्तरिक मामलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ विदेश मन्त्रालयले ट्राभल डकुमेन्टका रूपमा बीएनओ पासपोर्टलाई मान्यता र यात्रा अनुमति नदिने बताएको छ ।
नयाँ कानुनी व्यवस्थाले बेलायत र चीनबीच वैधानिक सम्झौताका रूपमा स्थापित सन् १९८५ को संयुक्त घोषणाको गम्भीर उल्लंघन भएको बेलायतको ठहर छ । बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गरेको थियो । त्यसबखत दुई देशबीच हङकङलाई ५० वर्षसम्म स्वतन्त्रता दिने सहमतिसमेत भएको थियो । सन् १९८० को दशकमा विशेष व्यवस्थासहितको ब्रिटिस नेसनल ओभरसिज (बीएनओ) पासपोर्ट प्रदान गरिएको थियो । तर, पछि त्यस्ता पासपोर्ट होल्डरका सबै सुविधा कटौती गरेर ६ महिनासम्मका लागि बेलायत प्रवेश गर्न पाउने सुविधा
मात्र दिइएको हङकङमा लामो समयको बसाइपछि बेलायत आएका सञ्चारकर्मी नरेन्द्र बस्नेतले जनाए ।
नेपाली पनि लाभान्वित
बेलायतको नयाँ भिसा योजनाबाट त्यहाँ रहेका नेपालीसमेत लाभान्वित हुने भएका छन् । दुई दशकभन्दा बढी समयदेखि हङकङ बस्दै आएकी सोनी प्रधान पनि श्रीमान् र दुई छोरासहित बेलायत आउने तयारीमा छिन् । कोरोना महामारीका कारण हाल बेलायतमा काम पाउन समस्या भएको आफन्तको भनाइपछि भने आफू केही अन्योलमा परेको प्रधानले बताइन् ।
‘वास्तवमा हामी बच्चाहरूको पढाइका लागि बेलायत आउन लागेका हौं,’ उनले कान्तिपुरसँग भनिन्, ‘बच्चाले पनि हङकङभन्दा बेलायतको पढाइ नै राम्रो हुन्छ, जाऊँ भनेर रहर गरे । कोरोना महामारी कम हुनेबित्तिकै आउँछौं ।’
हङकङ नेपाली मञ्च यूकेका अध्यक्ष ह्यारी गुरुङले बेलायत आउने तयारी गरिरहेका नेपालीलाई आफ्नो संस्थाले मार्गनिर्देशन गरिरहेको बताए । ‘निःशुल्क स्वास्थ सेवा, भेदभावरहित समाज, राम्रो शिक्षा र धेरै अवसरले गर्दा हङकङभन्दा बेलायतमा नेपाली आकर्षित भएका छन्,’ उनले भने । बेलायती गृह मन्त्रालयले जुलाईयता करिब ७ हजार जना हङकङबाट बेलायत आएर स्थायी रूपमा बसोबास गरिरहेका जनाएको छ ।
स्व्रोत: कान्तिपुर