संवैधानिक अंगका पदाधिकारीहरूले लिए सपथ

संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपीशर्मा ओली ,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए।

प्रधानन्यायाधीश जबराले  ५ आयोगका प्रमुखहरूलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका प्रमुखहरूले शपथ खुवाएका थिए। विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको छन्।

नियुक्तिप्रति नै असहमति जनाएका सभामुख अग्नि सापकोटाले भने सपथग्रहण समारोह बहिस्कार गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत संवैधानिक आयोगमा विवादास्पद रुपमा प्रधानमन्त्रीले गरेका नियुक्ति सभामुख सापकोटाले फिर्ता पठाएका थिए।

प्रधानमन्त्री केपी ओलीले गत पुस ३० गते अध्यक्षसहित तीन सदस्यको मात्रै उपस्थितिमा परिषदको बैठक सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। त्यसपछि सभामुख सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएको परिषदको बैठकले संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरेको थियो।

सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन र नियुक्तिको सिफारिस विवादास्पद भएको भन्दै सिफारिस परिषदमा फिर्ता पठाएका थिए। संवैधानिक परिषद्को सिफारिशमा विभिन्न आयोगका पदाधिकारी र सदस्य पदमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ।

स्व्रोत: अन्नपूर्ण पोस्ट

 

Share post:

Recent