प्रधानमन्त्रीका सहयोद्धा भन्छन् – ‘ओलीले आस मात्रै देखाउनुभयो’

पर्वत पोर्तेल

फाल्गुन २१, २०७७

काँकडभिट्टा — झापा विद्रोहका अगुवा ठूलो दुर्गा अधिकारी उपचारका लागि सहयोगको हात जोड्दै दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको निवासै पुगेका थिए । सँगै जेल बसेका सहयोद्धा प्रधानमन्त्री बनेका बेला सहयोग पाइएला भन्ने आस थियो । झापा आन्दोलनका बेला पाएको यातनाका कारण उनमा करङ खिइने समस्या छ । ‘ओली सरले त हुन्छ–हुन्छ भनेर आस मात्रै देखाउनुभयो, काम चैं फिटिक्कै गर्नुभएन,’ ठूलो दुर्गाले सुनाए ।

गत माघमा ७५ वर्ष टेकेका ठूलो दुर्गा अहिले पनि उपचारका लागि काठमाडौंमै छन् । भक्तपुरस्थित छोराको घरमा बसेका छन् । उनलाई युरिक एसिड, बाथ र दमले केही वर्षदेखि दुःख दिइरहेको छ । ‘आन्दोलनका बेला दिएको यातनाको घाउ अहिले आएर बल्झिन थालेको जस्तो छ,’ १२ वर्ष जेलनेल भोगेका उनले भने, ‘ऋण खोजेर भए पनि उपचार गराइरहेको छु ।’

ठूलो दुर्गाले सहयोद्धाहरू राधाकृष्ण मैनाली, सीपी मैनाली, झलनाथ खनाल, वामदेव गौतमलगायतलाई समेत सत्तामा भएका बखत सहयोगका लागि याचना गरेका थिए । तर कसैले सहयोग नगरेको उनले सुनाए । ‘धेरै नेतालाई धेरै पटक अनुरोध गरें,’ उनले भने, ‘भन्दा–भन्दा आफैंलाई दिक्क लाग्न थालेपछि छाडिदिएँ ।’ धर्मलाई ‘अफिम’ मान्ने कम्युनिस्ट सिद्धान्तका पक्षधर ठूलो दुर्गा केही समयअघि मन्दिरको पुजारी पनि बने । चरम आर्थिक समस्याका कारण पुजारी बनेर जीविका चलाउन बाध्य हुनुपरेको उनको भनाइ छ । ‘पुजारी भएर काम गर्न मनै लागेन, पछि छाडिदिएँ,’ उनले भने ।

एकपटक ओली सुरक्षा दलबलसहित राजमार्गमा हुइँकिरहेका थिए । त्यो बेला ओली प्रधानमन्त्री भइसकेका थिए या पार्टी अध्यक्ष मात्रै थिए, झापा धुलाबारीका सानो दुर्गा अधिकारीलाई हेक्का छैन । धुलाबारी नजिकै राजमार्गमा लखरलखर हिँडिरहेका झापा विद्रोहका योद्धा सानो दुर्गालाई ओलीले चिनेछन् । चालकलाई गाडी रोक्न लगाएछन् । नजिकै बोलाएर सुरक्षाकर्मीहरूले सुन्ने गरी भनेछन्, ‘दुर्गा कमरेडलाई खोलाको किनारमा नबस्नु भनेको पटक्कै मान्नु हुन्न । चिन्ता नलिनू, तपाईंको उचित व्यवस्थापनमा म लाग्छु ।’ ओलीले त्यति भनेपछि घर बन्ने भयो भनेर सानो दुर्गा खुसी भए । ‘त्यसपछि कैयौं पटक ओली यो बाटो भएर हुइँकिनुभयो, अहिलेसम्म मेरो छाप्रातिर फर्किएर पनि हेर्नुभएको छैन,’ उनले भने ।

स्राेतः कान्तिपुर

Share post:

Recent