यसरी सफल भयो विप्लवसँगको वार्ता

यसरी सफल भयो विप्लवसँगको वार्तानेपबहादुर कुँवर

मंसिर दोस्रो साता गृहमन्त्री रामबहादुर थापा (बादल) ले मलाई बोलाउनुभयो। त्यसबेला नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। विद्रोह गरिरहेको विप्लवको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने र वार्ताबाट समस्या समाधान गर्ने प्रयास त्यसअगाडि पनि अनौपचारिक रूपमा भइरहेको थियो। तर त्यो भरपर्दो कति बन्यो–बनेन र मलाई गृहमन्त्रीले जिज्ञासा राख्नुभएको थियो– के वार्तामा ल्याउन सकिएला ?

गृहमन्त्रीले सोध्नुभयो– उहाँहरू आउन इच्छुक हो होइन ? मैले जवाफ दिएँ– उहाँहरूसँगको सूत्र प्रयोग गरेर बुझ्नुपर्छ। म बुझिहेर्छु। सकिन्छ होला। म सम्पर्कमा जोड्न सक्छु । उहाँले भन्नुभयो– ल लाग्नुस्। यो तपाईंलाई महत्वपूर्ण जिम्मेवारी भयो। सजिलो यस अर्थमा थियो कि हिजो उहाँहरू पनि सँगै लडेका साथीहरू हुनुहुन्थ्यो। अप्ठ्यारो अवस्था थिएन। त्यसबेला केही साथीहरू पहिल्यैदेखि नै सम्पर्कमै हुनुहुन्थ्यो। गृहमन्त्रीले ल काम थालिहाल्नुस् भनेपछि म काममा खटिएँ।

तिलक पुन भन्ने साथी विप्लवका दाइ वीरजंग समातिँदा सँगै समातिएर जेलबाट छुटेका साथी हुनुहुन्थ्यो उहाँ। भूमिगत हुनुहुन्थेन तर बाहिर सम्पर्कमै हुनुहुन्थ्यो उहाँ। विश्वासिलै मानिस हुनुहुन्थ्यो। उहाँसँग सम्पर्क गरिसकेपछि उहाँहरूका तर्फबाट पनि बेलाबेला वार्ताका कुरा भइरहेका थिए। त्यसपछि यसको जिम्मा कसलाई छ भनेर खोजी गर्ने काम भयो। जिम्मा गुणराज लोहनी भन्ने आयो। उहाँकहाँ मचाहिँ गइनँ। तर उहाँकहाँ एकजना सन्तोष चौधरी भन्ने साथीलाई पठाएँ।

वार्ता गर्न सकिन्छ, वार्तामा आउन तयार हुनुहुन्छ भन्ने कुरा त्यहाँबाट पनि आयो। बाहिर मैले पनि पहल गरिरहेको छु। त्यही कुरा लिएर गृहमन्त्रीकहाँ आइयो। पहिला पनि सरकारले सोमप्रसाद पाण्डेहरू हुँदा बनाइएको वार्ता टोलीसँग छलफलका लागि एउटा टिम काठमाडौं आएको पनि बुझियो। सुरक्षा दिएर काठमाडौंमा १३–१४ दिन बसेर कुराकानी लिएर प्रकाण्ड स्वयं आएर फर्केको कुरा आयो। पछि विप्लवको खण्डन वक्तव्य आयो, सरकारले प्रयोग गर्ने गरी मात्र भएको तर त्यो आधिकारिक होइन भन्ने आएको थियो।

वक्तव्य पनि गयो सरकारको तर्फबाट। तर त्यो वक्तव्यमा नेकपा भनेर उल्लेख गरिएन। असन्तुष्ट समूह भनेपछि को हो को हो भन्ने भयो। त्यस्तो गर्ने भए हुँदैन भन्ने कुरा आयो। मैले त्यो कुरा गृहमन्त्रीलाई सुनाएँ। उहाँले अरूभन्दा पनि विप्लवजी सँगै पुग्नुपर्छ यो कुरा। उहाँको धारणा नै आउनुपर्छ भन्नुभयो।

त्यसपछि म तिलक पुनमार्फत नै उदयबहादुर चलाउने (जो अहिले विप्लवजीहरूको पार्टीको वार्ता टोलीका सदस्य हुनुहुन्छ) जी कहाँ पुगें। उहाँसँग दुईचोटि नेपालगन्ज पुगेर भेट गरेर उहाँलाई यताका कुरा सुनाउने र उताका कुरा लिएर यता आउने काम गरें। उहाँमार्फत करिब विप्लवसँगै कुरा भएपछि वार्ता गर्ने भन्ने कुरा आयो।यसरी सफल भयो विप्लवसँगको वार्ता

अन्तरविरोध सबै राजनीतिक पार्टीहरूमा हुन्छन् तर मुख्य हेर्डक्वार्टरको कुरा के हो भन्ने नपुर्‍याइदिन सक्छन्। बीचको सम्पर्कका मान्छेले आफूअनुकूल बनाउन सक्छन्। त्यसो नहोस् भन्ने थियो। वार्तालाई सार्थक र सफल बनाउनुपर्छ भन्ने गृहमन्त्रीको कुरा थियो। त्यसपछि उहाँले आफैंले भेट्न बोलाउनुस् भन्नुभयो। उदयजी नै आउनुभयो।

मध्यस्थता गर्ने भन्ने कुरा असाध्यै गाह्रो हुँदोरहेछ। उदयबहादुर चलाउने नै विप्लव त होइनन्। महासचिव होइनन्। महासचिवसँग यता सरकारको गृहमन्त्रीसँग सम्पर्कमा रहेका व्यक्तिले कति कुरा पुराए, उताका कुरा कति आए भन्ने हुँदोरहेछ। त्यसपछि उदयबहादुरजीलाई नै काठमाडौं ल्याइयो। उहाँलाई गृहमन्त्रीकहाँ ल्याएर भेटाउने काम भयो। उहाँलाई सातपटक सीधै पुल्चोकस्थित गृहमन्त्रीको क्वार्टरमा ल्याएर भेटाउने काम भयो।

पहिला आएर उहाँले सामान्य कुराकानी गर्नुभयो। कति हो विश्वसनीयता वार्तामा आउने भन्ने खालका कुरा भए। मंसिरमै उहाँहरूको केन्द्रीय समितिको बैठक बसेको थियो। त्यसमा एउटा प्रकारको सर्कुलर थियो। धर्मेन्द्र बास्तोला पक्राउ परेपछि त्यो डकुमेन्ट सबै सुरक्षा निकायको हातमा पुगिसकेको थियो।

वार्ता सफल पनि भयो। मेरा लागि यो एउटा नयाँ अनुभव र गौरवको विषय पनि भयो। वार्ता सफल र परिणाममुखी भएकोमा म असाध्यै खुसी छु।

शान्ति प्रक्रियामा आउने हो भने हिंसात्मक र ध्वंसात्मक गतिविधि रोक्नुपर्‍यो। अरू तपसिलका कुरा हुन्। हिजो जनयुद्धमा हामी हुँदा पनि केकति खुला हुने कति गोपनीयता राख्ने भन्ने हुन्थ्यो। आफ्नो लक्ष्यसँग जोडिन्छ। त्यसक्रममा हाम्रो जोड तपाईंहरू शान्ति प्रक्रियामै आउनुपर्छ भन्ने थियो उहाँहरूलाई। पहिलो चरणमा सामान्य कुराकानी र भेटघाट मात्र भयो। दोस्रो चरणमा आउँदा बुँदामा आयो कुराकानी। १४ बुँदा तयार भयो। गृहमन्त्रीले त्यो १४ बँुदे उहाँहरूलाई दिनुभयो। अर्काे चरणमा फेरि छलफल हुँदा सात बुँदामा पत्राचार भयो। राज्यका तर्फबाट सातबुँदे प्रस्ताव उहाँहरूकहाँ गयो। उताबाट एउटा बुँदा थप गरेर आठबुँदे आयो। त्यो सातबुँदे र आठबुँदेलाई मिलाएर पछि तीन बुँदामा झार्ने काम भयो। त्यसमा सहमति भयो। अहिले भएका तीनवटा बुँदाका कुरा पहिले नै टुंगिसकेको विषय थियो। वार्ता टोली गठन नगर्दै विप्लवको ८ फागुनमा वार्ताका लागि तयार भएको वक्तव्य नआउँदै सहमति भित्रीरूपमा भइसकेको थियो।

अहिले जे वार्ता भयो, त्यो औपचारिकता मात्र हो। पुस ५ मा प्रतिनिधिसभा विभाजनपछि नेकपामा पनि विभाजन आयो। तर पनि बादल कमरेडले मलाई आफ्नो जिम्मेवारीमा निरन्तर खटिन आग्रह गर्नुभयो। उहाँले मलाई विश्वास गरेरै त्यो जिम्मेवारी दिनुभएको थियो। त्यसमा मलाई गर्व लागेको छ। पार्टी विभाजनमा बादल कमरेडसँग जोडिएका धेरैले उहाँलाई छाडेर जानुभयो। तर म कतै लागिनँ। मेरो स्वभाव कसैले एउटा कामको जिम्मेवारी दिइसकेपछि त्यो पूरा गर्नुपर्छ भन्ने हुन्थ्यो। त्यहीकारण पनि मैले उहाँलाई यो मिसनमा साथ दिइरहें।

हिजो जनयुद्धकालमा म फौजी कमान्डर थिएँ। कमान्डरले योजना बनाएर पठाएपछि सबै काम फत्ते बनाएर अरू आउँथे होलान् नि। तर मलाई त्यसमा मात्र चित्त बुझ्दैनथ्यो। म आफैं फिल्डमा पहिले जानुपथ्र्यो। फिल्डमा गएर सबै कुरा गरेर लडाइँ लड्ने मात्र होइन, लडिएको युद्ध जित्न सक्ने गरी योजना बनाउने हुन्थ्यो मेरो।

यो वार्ताको जिम्मेवारीमा पनि मलाई जित्न सकिन्छ भन्ने थियो। गृहमन्त्रीले पनि मलाई विश्वास गरेर जिम्मा दिनुभएको थियो। म निरन्तर लागिरहें। पार्टी विभाजनमा पनि कुनै असर भएन। मैले पनि उहाँलाई विश्वास दिलाएँ।

महिले यसरी सम्पर्क सूत्रका रूपमा मध्यस्थताको काम गरिरहेको अरू कसैलाई थाहा थिएन। माओवादी पृष्ठभूमि भएका मन्त्रीहरूसँग पनि मेरो राम्रै छ। उहाँहरू स्वयंलाई पनि थाहा थिएन। म र उदयजी मान्छे हेर्दा पनि बाहिरबाट नयाँ कोही मान्छे आएजस्तो थिएनौं। उदयजी सानो गाँठीको खिट्याउरे खालको र म पनि उस्तै खालको। मन्त्री क्वार्टरमा जाँदा कसैले शंका गर्ने अवस्था नै बनाएनौं।

जोखिम उत्तिकै थियो। वार्ताको पहल गर्ने मात्र होइन, मन्त्रीको क्वार्टरमै पुर्‍याएका र पहिले तेस्रो डिभिजनमा रहेर काम गरिसकेका व्यक्ति कसैले चिनेजाने र उनको पक्राउको विषय आए ठूलै जोखिम हुने थियो। उहाँमाथि केही भएको भए त्यसको असर ममाथि पर्ने थियो। त्यसकारण यो छलफलका कुराको गोपनीयता राखेर लिक नहुने विषय र उदयजीलाई सुरक्षित ल्याउने र सुरक्षितरूपमा पुर्‍याउने काम जोखिमकै थियो। चुनौतीकै विषय थियो।

उपत्यकासम्म उहाँ आफैं आउनुभएको थियो। यहाँ आइसकेपछि उहाँ उपत्यका नछाड्दासम्म सम्पूर्ण रूपमा जिम्मा मेरो हुन्थ्यो। नेपालगन्जमा पुगेर पहिला मैले उदयजीलाई भेट्दा पहिलोपटक पिस प्लान कि के भन्ने होटलमा र अर्काेपटक कोहलपुरमा वार्ता गरेको थिएँ।

बुदा आदानप्रदान हँुदा वार्ताको सम्भावना हुन्छ हँुदैन भन्ने ख्याल गरिन्थ्यो। १४ बुँदाको विषय आउँदा के हो भन्ने थियो, जब सात बुँदामा यो विषय झरेपछि भने मलाई र हामी सबैलाई पनि अब वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न सकिन्छ भनेर विश्वास भएको थियो।

शान्तिपूर्ण र वैधानिक भन्ने विषयमा धेरै कुरा हुन्थ्यो। शािन्तपूर्ण भन्नेबित्तिकै अवैधानिक काम गर्न पाइँदैन। हतियार बोक्न पाइँदैन। फौजी संरचना बनाउन पाइँदैन भन्ने सबै विषय पर्‍यो। ती बुँदा सबै खाँदिए। सैद्धान्तीकरण पनि भयो। त्यसपछि बुँदा घट्ने काम भयो।

तीन बुँदा भन्नाले नेपाल सरकार र नेकपाबीचको सहमति पत्र भन्ने विषयमा भएको सहमति हो। पहिलो, नेकपा शान्तिपूर्ण राजनीतिमा आउन सहमत छ। दोस्रो, नेपाल सरकारद्वारा प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहाइ गर्ने र झूटा मुद्दा खारेज गर्न सहमत छौं। तेस्रो राजनीतिक विषय संवादका माध्यमबाट अगाडि बढाउने खालका विषय छन्।

उहाँहरूले पुँजीवाद (संसदीय व्यवस्था) या वैज्ञानिक समाजवाद भन्ने विषय सार्वभौम जनताको जनमतबाट निरूपण गर्नुपर्ने विषय उठाउनुभएको थियो। वार्ताका क्रममा उहाँहरूले त्यो विषय उठाउनुभएको थियो। तीनबुदेमा त्यो विषय छैन।

अहिले सार्वजनिक भएका तीनबुँदे बुँदागत रूपमा आएको छैन। प्रधानमन्त्री र विप्लव कमरेडले सम्बोधन गर्ने कार्यक्रमका बेलामा मात्र त्यो बुँदागत रूपमा आउनेछ।

प्रधानमन्त्रीलाई थाहा थियो, गृहमन्त्रीलाई थाहा थियो। अरू कसैलाई थाहा थिएन। बादल दाइ, म र विप्लवको वार्ता टोलीका प्रतिनिधिबीच बुधबार बेलुकी बादल दाइको निवासमा बसेर पनि लामै छलफल भएको थियो। बीचबीचमा बादल कमरेडले प्रधानमन्त्रीलाई छलफलका विषय अवगत गराइरहनुभएको थियो। मात्र प्रक्रियाका कारण बिहीबार नै सबै घोषणा नभएको हो।

उहाँहरूको ८ फागुनमा बसेको केन्द्रीय समितिको बैठकमा मेरो भूमिकाका विषयमा छलफल चलेछ। उहाँहरूले वार्ताको भूमिका गम्भीरतापूर्वक निर्वाह गरेको विषयमा मेरो भूमिकामा छलफल गर्नुभएको रहेछ। आज पनि वार्ता सफल भएर हस्ताक्षर भएपछि बाहिर आएर प्रकाण्ड कमरेडले मलाई ल विवेकजी तपाईंलाई धेरैधेरै वधाई छ महŒवपूर्ण भूमिका निर्वाह गर्नुभयो भन्नुभयो।

उहाँहरूको वार्ता टोलीलाई बालुवाटारको वार्तास्थलसम्म पनि मैले नै लिएर गएको थिएँ। अत्यधिक मात्रामा अनौपचारिक रूपमा विषय टुंग्याउने र वार्तालाई मात्र औपचारिक बनाउने भन्ने पहिल्यै दुवै पक्षका बीचमा भएको थियो। त्यसपछि मात्र औपचारिकताका लागि मात्र वार्ता भएको हो। १७ गते साँझ आइपुग्ने भनेको प्रकाण्ड तर उहाँ एक दिन ढिला मात्रै आइपुग्नुभयो। नत्र अझ एक दिनअगाडि नै यो सबै टुंगिने थियो। धेरैलाई लागेको थियो– यो वार्ता सफल हुन्छ र ? तर मलाई विश्वास थियो सफल हुने। वार्ता सफल पनि भयो। मेरा लागि यो एउटा नयाँ अनुभव र गौरवको विषय पनि भयो। वार्ता सफल र परिणाममुखी भएकोमा म असाध्यै खुसी छु। आफूले जिम्मा लिएर थालेको काम सफल हुन पुगेकोमा असाध्यै खुसी छु।

—सरकार–विप्लव समूहबीच वार्ताका मध्यस्थकर्ता कुँवरसँग रामकृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित।

स्राेतः अन्नपुर्ण पाेष्ट

Share post:

Recent