काठमाडौं : ६५ वर्ष नाघेका वृद्ध आमाबुवाले खोप लगाउने पालो आएको छ। तपाईं द्विविधामा हुनुहुन्छ भने ढुक्क भएर खोप लगाउन जानुहोस्। यसले कोरोना भाइरस संक्रमण हुनबाट जोगाउँछ। दीर्घ रोगहरू (मुटु, फोक्सो, मिर्गौलाका र क्यान्सर) भएका व्यक्तिले पनि खोप लगाए हुने विज्ञ बताउँछन्। यस्तै, रोग प्रतिरक्षा कमी वा एचआईभी/एड्स भएका व्यक्तिले पनि खोप लगाउन मिल्छ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोभिसिल्ड खोप लगाएपछि संक्रमण भइहाले गम्भीर बिरामी हुनबाट जोगिने बताए। आफूबाट अरूलाई कोरोना संक्रमण हुने सम्भावना कम हुने पनि डा. सुवेदीको भनाइ छ।
सरकारद्वारा गठित कोभिड –१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार यो खोप सुरक्षित र प्रभावकारी छ। ‘मांशपेशीभित्र दिइने यो खोप ७१ प्रतिशत प्रभावकारी छ’, डा. उप्रेतीले भने। खोपको दोस्रो डोज लगाएपछि प्रभावकारिता झन् वृद्धि हुने विज्ञ बताउँछन्। डा. उप्रेतीका अनुसार पहिलो डोज जुन लगाइएको छ, दोस्रो डोज पनि त्यही लगाउनुपर्छ। ‘यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई डोज लगाउनुपर्छ’, उनले भने।
पहिला कोभिड १९ संक्रमण भएका व्यक्तिले खोप लगाउन मिल्ने उनको भनाइ छ। ‘रोग प्रतिरोधात्मक औषधि सेवन गरिरहेका बिरामीमा तुलनात्मक रूपमा कम प्रतिरक्षा शक्ति प्रदान गर्न सक्छ’, उनले भने, ‘गर्भवती महिलालाई यो खोप दिनुहुँदैन। तर, स्तनपान गराइरहेका आमालाई खोप दिन सकिन्छ।’ ‘कुनै कारण’ले गम्भीर बिरामी भएका व्यक्तिले पनि खोप लगाउन नहुने चिकित्सकको सुझाव छ।
६९ वर्र्षीय प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० बजे खोप लगाएर दोस्रो चरणको अभियान शुभारम्भ गर्दै छन्। यो चरणमा ६५ वर्ष नाघेका १७ लाख ९१ हजार नागरिक खोपबाट लाभान्वित हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘यो चरण अत्यन्तै महत्वपूर्ण छ। खोप अभियान साह्रै जोखिममा रहेको जनसंख्याका लागि सञ्चालन गर्दै छौं’, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शनिबार प्रेस ब्रिफिङका क्रममा भने।
६५ वर्षमाथिको उमेर समूहलाई १० दिनसम्म खोप प्रदान गरिनेछ। त्यसलगत्तै ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने तयारी छ। यो समूहको जनसंख्या ३७ लाख छ। बाँकी रहेको २८ लाख जनसंख्यालाई खोप उपलब्धताका आधारमा खोप अभियानमा सहभागी गराइनेछ।
पहिलो चरणको अभियान माघ १४ गते सुरु भएको थियो। उक्त अभियान अस्पताल केन्द्रीत थियो। दोस्रो चरणको अभियान खोप केन्द्रलाई आधार बनाएर सञ्चालन हुँदै छ। पहिलो चरणमा झन्डै ५ लाख जनाले खोप लगाएको मन्त्री त्रिपाठीले बताए।
‘एकदमै न्यून मात्रामा खोपको असर देखिएको छ। झन्डै २१ सय जनामा सामान्य असर देखियो। १९ जनामा हल्का गम्भीर प्रकृतिको असर देखिएको छ’, उनले भने, ‘जसलाई चिकित्सकको परामर्शमा एक दिनमै समस्या समाधान भयो।’
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका नेसनल प्रोफेसनल अफिसर डा. राहुल प्रधानले कोभिसिल्ड खोप लगाएका झन्डै ६० प्रतिशतलाई सामान्य ज्वरो आउन सक्ने सम्भावना हुने बताए। ‘खोप लगाएपछि ज्वरो आउने, जीउ तथा टाउको दुख्ने, कमजोरी महसुस हुने, रुघाखोकी लागेजस्तो हुन सक्छ’, डा. प्रधानले भने, ‘यी लक्षण सामान्य हुन्। केही दिनपछि आफै हराएर जान्छन्। कोही पनि डराउनुपर्दैन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आफू संक्रमणबाट जोगिन र अरूलाई जोगाउन खोप लगाउन आवश्यक छ। ‘खोप लगाएपछि पनि सुरक्षा मापदण्ड अपनाउन बिर्सनु हुँदैन’, प्रवक्ता डा. गौतमले भने। मुलुकभर ६ हजार खोप केन्द्रमा खोप लगाइने प्रवक्ता डा. गौतमले बताए। १५ हजार स्वास्थ्यकर्मीले खोप सेवा दिनेछन्।
कोभ्याक्सको खोप आइपुग्दै
मन्त्री त्रिपाठीका अनुसार कोभ्याक्सबाट उपलब्ध ३ लाख ४८ हजार डोज (मात्रा) खोप आइतबार काठमाडौं आइपुग्दै छ। १ करोड ४८ लाख खोप उपलब्ध गराउने प्रतिबद्धता छ। भारतले १० लाख डोज कोभिसिल्ड खोप उपहारस्वरुप प्रदान गरेको थियो। त्यसपछि सरकारले भारतबाट खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज आइसकेको छ। बाँकी खोप चाँडै आउने मन्त्रालयले जनाएको छ। मन्त्री त्रिपाठीले थप ५० लाख डोज खरिद प्रक्रिया अघि बढेको बताए।
स्राेतः अन्नपुर्ण पाेष्ट