काठमाडौं : पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत अन्य नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोधेको छ। शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले महासचिव ईश्वर पोखरेलले उनीहरुलाई स्पष्टीकरण सोधेका हुन्।
नेपाल नेकपा एकीकरण पूर्व एमालेका वरिष्ठ नेता थिए तर अहिले पार्टीको वरिष्ठ नेता नरहेको जनाउसहित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको रुपमा स्पष्टीकरण पत्र पठाइएको छ। उनलाई एमालेले १० बुँदे प्रश्नसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ।
नेपाललाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकका रुपमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो भनेर सोधिएको छ।
स्पष्टीकरण पत्रमा पार्टीको विधान र निर्देशन विपरित पार्टी र जनसंगठनहरुको नाम, झण्डा र चिन्हको दुरुपयोग गरी समानान्तर संगठन निर्माण गर्ने र कथित भेलाहरु आयोजना गर्नु र पार्टीको एकता विरोधी प्रस्ताव प्रस्तुत एवम् पारित गर्नु र गराउनुको कारण के हो भन्दै प्रश्न समेत गरिएको छ।
‘मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाह्रौं बैठकको निर्णय बमोजिम माथी उल्लिखित बिषयहरुमा तपाईले पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईलाई पार्टी विधान बमोजिम कारवाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई तीन दिनको समय दिइएको छ ।’ नेपाललाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तीन दिनभित्र स्पष्टीकरण सहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराईन्छ ।’