चितवनको चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । राजधानी बाहिर गरिएको यो पहिलो सफल परिणाम हो।
कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जनाएको छ ।
कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको परिवार काठमाडौं बस्दै आएको थियो ।
कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नवीन यादव, डा. सुरेश गौतम, डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा. सञ्जीव अनिजालगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।
बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सक बताए ।
कलेज प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ । सरकारले कलेजो प्रत्यारोपण गराउने बिरामीलाई सरकारले केही सहयोग गरे अझै सस्तोमा गर्न कलेज तयार रहेको डा. न्यौपानले बताए ।