१३ चैत २०७७,
काठमाडौं । साझा यातायातले बिधुतिय बस किन्ने गरी टेन्डर आह्वान गरेको छ । शुक्रबार बोलपत्र आह्वान गर्दै साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया अघि बढाएको छ । साझाले यही टेन्डरबाट थप २० प्रतिशत रकम खर्चेर ४८ वटासम्म बस ल्याउन सक्नेछ ।
साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दिक्षितका अनुसार सरकारले दिएको न्युनतम् मापदण्डको आधारमा रहेर भौतिक पूर्वाधार मन्त्रालय, नेपाल बिधुत प्राधिकरण, यातायात व्यवस्था विभागका प्रतिनिधि र विज्ञ सम्मिलित टोलीले स्पेसिफिकेसनलाई अन्तिम रुप दिएको थियो । साझाको सञ्चालक समितिले सो स्पेसिफिकेसन पास गरेपछि टेन्डर आह्वान भएको हो ।
साझाले पहिलो चरणमा ९ मिटर लामो बस किन्ने गरी टेडर आह्वान गरेको हो । पहिलो चरणमा ९ मिटर लामो बस किन्न लागिएको अध्यक्ष दिक्षितले बताए ।
‘यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने बिधुतिय बसहरु पनि ल्याउँछौं,’ उनले भने । यो टेन्डरमार्फत २५ सिट र सोभन्दा बढी क्षमताका बिधुतिय बस काठमाडौंमा आउनेछन् । यि बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधासहितको बिधुतिय बसहरु थप्ने जाने साझाले जनाएको छ ।
सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७१ वटा ठूला बस छन् ।