बल्ल मेलम्चीको पानी वितरण शुरु

१६ चैत २०७७,

काठमाडौ । काठमाडौ उपत्यकाबासीको वर्षौंदेखिको एउटा सपना पुरा भएको छ । मेलम्चीको पानी काठमाडौं ल्याउने राजनीतिक दलको तीन दशकदेखिको सपना पनि आज बल्ल पूरा भएको छ।

आइतबार चाबहिल चुच्चेपाटीस्थित महांकाल चौरमा रहेको काठमाडौं खानेपानी लिमिटेड (केयूकेएल) को ट्यांकीबाट पहिलो चरणमा ४ करोड लिटर पानी छोडिएको छ।

यसरी छोडिएको पानी महांकाल, अनामनगर, मीनभवन र खुमलटार क्षेत्रमा वितरण हुने काठमाडौं खानेपानी लिमिटेडका कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए। सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको केयूकेएलले जनाएको छ ।

यो आइतवारको काम सफल भए दोस्रो चरणमा बालाजु क्षेत्रमा ६।५ करोड लिटर पानी छोडिने योजना छ। त्यो पनि सफल भए तेस्रो चरणमा महाराजगञ्ज लगायतका क्षेत्रमा ८।५ करोड लिटर पानी छोडिनेछ।

सोचेअनुसार काममा सफलता मिले कुल १७ करोड लिटर मेलम्चीको पानी उपत्यकाबासीको धारामा आउनेछ। निर्देशक शाक्यले मेलम्चीको पानीको सपना पूरा भएको जानकारी दिए।

आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ ।

Share post:

Recent