१७ चैत,
म्यानमारमा सैन्य कूको विरोध सडकमा उर्लिएको जनसागरलाई बलपूर्वक दबाउन खोज्दा अवस्था झन् जटिल बन्दै गएको छ । ४ सय भन्दा धेरै मारिएका छन् ।
गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि त्यसको विरोधमा हरेक दिन प्रदर्शन हुँदैआएको छ । तर सेनाले प्रदर्शन दबाउन व्यापक रुपमा गोली वर्षा गरेको छ । पछिल्लो शनिबार मात्रै सेनाले ४० ठाउँमा गोली चलाएको थियो ।
एजेन्सीहरुका अनुसार आइतबारसम्म आन्दोलनमा मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । आइतबार मात्रै ३६ जनाको हत्या भयो भने शनिबार एकै दिन ११४ जना प्रदर्शनकारी मारिए ।
विश्वभरबाट निन्दा
म्यानमारको सेनाको गतिविधिमाथि विश्वका विभिन्न देशले विरोध जनाउदै आएका छन् । विभिन्न देशमा त म्यानमारको प्रजातान्त्रिक आन्दोलनप्रति ऐकवद्धता साथै सेनाको विरोध गर्दै प्रदर्शन समेत भएका छन् । नेपालसहित केही देशका नागरिक अगुवाहरुले सरकारलाई यस घटनाको विरोध गर्न माग गरिरहेका छन् ।
शनिबारको हिंसात्मक र ज्यादतीपूर्ण घटनासँगै अमेरिका, बेलायत सहित विभिन्न १२ देशका रक्षामन्त्रीहरुले म्यानमारको सैन्य दमनको विरोध गरेका छन् । बीबीसीका अनुसार अमेरिकाले शनिवार सुरक्षा फौजहरूले ‘आतङ्कको शासन’ गरेको आरोप लगाएको छ।
अमेरिका, जापान र अस्ट्रेलियाले पनि संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् । व्यावसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्ने र आफूले सेवा गर्ने जनतालाई क्षति पुर्याउन नभएर सुरक्षा दिन जिम्मेवार हुनुपर्ने वक्तव्यमा उल्लेख छ ।
म्यानमारमा हत्याका खबरबाट आफू स्तब्ध भएको अमेरिकी अधिकारीहरुको प्रतिक्रिया छ। यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि हिंसाका खबरबाट ‘पूरै स्तब्ध’ भएको बताएका छन् ।
गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्दै म्यानमारको सेनाले सत्ता कब्जा गरेको थियो । साथै नेत्री आन साङ सू चीसहित थुप्रै नेताहरुलाई हिरासतमा लिएर मुद्दा चलाएको छ । ५० वर्षसम्म सत्ता नियन्त्रणमा लिएको म्यानमारको सेनाले २०११ मा नागरिकलाई सत्ता हस्तान्तरण गरेको थियो । तर त्यसको १० वर्ष पुग्दा नपुग्दै फेरि सत्ता हत्याएको हो ।