बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

१७ चैत,

दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ का श्यामलाल श्रेष्ठ लगायत उमाचोकका अधिकांश कृषकहरु बाँदर आतङ्कले पीडित छन् । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ ।

यहाँका कृषकलाई बाँदर आतङ्कबाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ । सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको जानकारी दिनुभयो ।

यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ ।

उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, लिची लगायतका बिरुवा उत्पादन गरिनेछ । दुई/तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । ‘म्याग्देका विभिन्न ठाउँमा बाँदर आतङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आतङ्क रहेको पाइयो’, रानाभाटले भने, ‘विगतमा धेरैपटक खेतबारीमै गएर महिलालाई आक्रमण गर्ने गरेको घटना छ ।’

म्याग्देमा बाँदरले दुःख दिन थालेपछि गत वर्ष गाउँपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण प्रदान गरेको थियो तर उक्त उपकरण प्रभावकारी नभएको कृषकको भनाइ छ ।

 

Share post:

Recent