अमेरिकाको एक जलाशयलाई ९ करोड ६० लाख काला बलले छोप्नुको कारण

१८ चैत,

अमेरिकाको क्यालिफोर्निया प्रान्तको लस एन्जेल्स सहरमा एउटा विचित्रको तस्बिर फेला पर्यो । उक्त तस्बिरमा चाख लागेर खोज्दै जाँदा थाहा भयो यस जलाशयमा ९ करोड ६० लाख काला बल थुपारिएका रहेछन् । यो कुनै किसिमको विश्व-कीर्तिमान राख्ने चाहनाले प्रेरित भएर गरिएको दृश्य हो कि भन्ने लागेको थियो । तर यो तिर्खा मेटाउने अभियानमा अन्वेषण गरिएको अनौठो प्रयोग पो रहेछ ।

भनिन्छ – क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ऊष्ण क्षेत्रमध्ये पर्छ । लस एन्जेल्स सहर संसारका अन्य ठूला सहरजस्तै पानी आपूर्तिको ठूलो समस्या छ यहाँ । सहर किनारमा अवस्थित १ सय २५ एकडको  क्षेत्रमा विस्तृत रहेको यस जलाशयमा ३ अर्ब ग्यालेन पानी भण्डारण हुन्छ । गर्मी याममा पानीलाई तीव्र वाष्पीकरणबाट जोगाउन ‘रिफ्लेक्टिभ कोटिङ’ गरिएका बल प्रयोगमा ल्याएइका रहेछन् । योजनाअनुसार पूरै जलाशयको माथिल्लो पानीको सतहलाई यी बलले ढपक्क छोपिएको छ ।

पानीमाथि रहेका यी काला बलले सूर्यको किरणलाई परावर्तित गरिदिन्छ । भनाइको अर्थ सूर्यका किरण र पानीको सम्पर्क हुँदैन । यसरी पानी र सूर्य किरणमा हुने सम्बन्ध रोकेर त्यहाँका वैज्ञानिकहरूले गर्मीयाममा हुने वाष्पीकरणलाई ९० प्रतिशतसम्म रोक्ने सफलता पाएका छन् । वैज्ञानिकहरूले यस विधिका माध्यमबाट प्रतिवर्ष ३० करोड ग्यालेन पानीलाई वाष्पीकरण हुनबाट जोगाएका छन् ।

कालो बलको यस प्रयोगले पानी वाष्पीकरण हुनबाट मात्र जोगाएको छैन । यसले एउटा अर्को पनि महत्त्वपूर्ण कार्य गरेको छ । जस्तो कि तपाईँहरूलाई थाहै छ, पानीमा प्रायः ब्रोमाइड भन्ने रसायन रहेको हुन्छ । यो रसायन सामान्य अवस्थामा मानव स्वास्थ्यका लागि हानिकारक छैन । तर यदि पानीमा क्लोरिन पनि रहेको छ भने क्लोरिन र ब्रोमाइडले सूर्य प्रकाशको उपस्थितिमा क्रिया गरेर अर्को नयाँ रसायन ब्रोमेटमा रूपान्तरित हुने स्वभाव बोकेका हुन्छ । यो ब्रोमेट भन्ने रसायन  भने मानव स्वास्थ्यका लागि अति नै खतरानाक हो, यो क्यान्सर कारक नै हो ।

यस्तो अवस्थामा पानीमा ब्रोमेट बन्नबाट रोक्ने एक मात्र उपाय पानी र सूर्य प्रकाशको सम्पर्कविच्छेद गर्नु नै रहेको थियो । जहाँ समस्या त्यहाँ उपाय भनेजस्तै अन्ततः वैज्ञानिकहरूले बलबाट सम्पूर्ण जलाशय ढाकेर वाष्पीकरण र ब्रोमेट उत्पादन दुवैमा विराम लगाउने सफलता हात पारे । अब यही विधि अन्य जलाशयमा पनि प्रयोगमा ल्याउने उपक्रम बढेको छ ।

Share post:

Recent