खनाल–नेपाल समूहको शक्ति संगठन शुरु

२० चैत,

कास्की — प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया शुरु गरेपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । यसअघि भ्रातृ संगठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको शुरुवात बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ ।

पोखरामा आयोजित खनाल–नेपाल समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । नेता नेपालले कमिटी घोषणा गरेका हुन् ।

चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले एक–एक गर्दै कारबाही गरेर खनाल–नेपाल समूहको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरूलाई जोगाइराख्ने योजना यो समूहले बनाएको हो ।

खनाल–नेपाल समूहले यसअघि नै तीनवटा ठूला भ्रातृ संगठन, युवा संघ, अनेरास्ववियु र अखिल नेपाल महिला संघमा समानान्तर कमिटी बनाएको छ । युवा संघको त छुट्टै कार्यालयसमेत स्थापना गरिसकेको छ । अब केन्द्रीय कार्यालय पनि नयाँ बनाउने योजना नेपालले दुई दिनअघि सार्वजनिक गरिसकेका छन् । काठमाडौं धुम्बाराहीको केन्द्रीय कार्यालय ओली समूहले सल्लाह नै नगरी एकलौटी रूपमा थापाथलीमा सार्ने निर्णय गरेपछि खनाल–नेपाल समूहले पनि आफ्नो पक्षको छुट्टै कार्यालय बनाउन लागेको हो ।

एमाले ब्युँतेको अवस्थामा एकता गर्नुअघिको २०७५ जेठ २ सम्मका कमिटीहरू क्रियाशील हुनुपर्ने माग खनाल–नेपाल समूहको छ तर खनाल–नेपाल पक्षलाई खबरै नगरी प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठक गरी माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गराएका थिए । उक्त निर्णय खारेज हुनुपर्ने र वैधानिक ढंगबाट पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग खनाल–नेपाल पक्षले गर्दै आएको छ।

Share post:

Recent