२३ चैत,
काठमाडौँ – यही आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदैछ । उक्त विद्युुतीय बस सुन्दर यातायात प्रालिले चीनबाट ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो ।
सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये ४० सिट क्षमताका नौवटा बस पहिलो चरणमा ल्याइने भएको छ ।
सुन्दर यातायातले हाल काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । तीमध्ये तीनवटा चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन भइरहेका छन् । ती बस युरो मापदण्डका हुन् । सुन्दर यातायातले चितवनमा पनि विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।