टिकटक सर्वाधिक लोकप्रिय एप, एक महिनामै ६ करोड डाउनलोड

२ बैशाख,

सामान्यतया छोटो भिडियो बनाउने र सेयर गर्ने लोकप्रिय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुगेको छ ।

एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांक अनुसार गएको मार्च महिनामा टिकटक ५ करोड ८० लाख पटक डाउनलोड भई नन गेमिङ एपतर्फ सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा रहेको छ । यसैगरी सर्वाधिक डाउनलोड हने नन गेमिङ एपको दोश्रो नम्बरमा फेसबुक रहेको छ । मार्च महिनामा फेसबुक एप विश्वमा ५ करोड ६० लाख पटक डाउनलोड भएको छ । फेसबुक मातहतकै अन्य एपहरु इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

तथ्यांक अनुसार सबैभन्दा धेरै टिकटक इन्स्टल हुने देशको रुपमा चीन रहेको छ । मार्च महिनाको तथ्यांक अनुसार चीनको हिस्सा ११ प्रतिशत छ भने दोश्रो नम्बरमा १० प्रतिशतसहित अमेरिका छ । भारतमा भने टिकटक प्रतिबन्धित रहेको छ ।

उता मार्च महिनामा सबैभन्दा धेरै फेसबुक एप इन्स्टल हुनेमा भारत पहिलो नम्बरमा छ । मार्च महिनामा भएको फेसबुक एपको विश्वव्यापी डाउनलोडमध्ये २५ प्रतिशत हिस्सा भारतको छ । दोश्रो स्थानमा रहेको अमेरिकाको ८ प्रतिशत रहेको छ ।

 

Share post:

Recent