३ बैशाख,
काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल–माधवकुमार नेपाल निकट सांसदहरुलाई छुट्टाछुट्टै भेटेर फकाउन थालेका छन्। सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुरामा नेपाली कांग्रेस र जसपा लगायतका दलहरुबीच बारम्बार छलफल र बैठक थालेपछि ओली पनि सरकार टिकाउने कसरतमा लागेका हुन् । त्यसका लागि महासचिव ईश्वर पोखरेल तथा अर्थमन्त्री विष्णु पौडेल लगायतका नेता पनि लागेका छन् ।
उनीहरुले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, ध्रुवबहादुर शाही, राजबहादुर बुढा लगायतलाई भेटेर आफुहरुलाई साथ दिन आग्रह गरेका छन् । सांसद खतिवडालाई प्रधानमन्त्री ओली आफैँले फोन गरेर सहयोग मागेको बताइएको छ । खतिवडालाई अर्थमन्त्री पौडेलले पनि छुट्टै संसद् भवन नयाँ बानेश्वरमा पनि भेटेका थिए ।
यसअघि पनि प्रधानमन्त्री ओलीले एमालेभित्र समूहगत रुपमा कुनै छलफल नगर्ने, व्यक्तिगत रुपमा कुनै गुनासो भए त्यसलाई समाधान गरेर जाने बताएका थिए। तर, खनाल–नेपालले सर्वोच्च अदालतको फैसलाले २०७५ जेठ २ गतेको अवस्थामा पुर्याएको भन्दै त्यस समयको पार्टी संरचनालाई ब्युँताउनु पर्ने माग राखेका छन्।