८ वैशाख,
काठमाडौं। सिनामंगलको सूरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई एयरलाइन्सले फर्काएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘हिजो सूरिया ल्याबमा छापा मारेर नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’
यसअघि नेपालमा पीसीआर नेगेटिभको रिपोर्ट देखाएर हङकङ पुगेकाहरुको पीसीआर पोजेटिभ आएपछि नेपाल एयरलाइन्स थुप्रै पटक निलम्बनमा परेको थियो । केही दिनअघि अपराध महाशाखा, बानेश्वरका एक अधिकृतलाई खबर आयो, स्वाब नै नदिई पीसीआर नेगेटिभ भएको रिपोर्ट घरघरमा पुग्ने गरेको छ ।
अपरेसनमा खटिएका अधिकृतहरुले विदेश जाने चारजना व्यक्ति खडा गरेर पीसीआर नेगेटिभ रिपोर्ट चाहिएको खबर प्रयोगशालासँग जोडिएका व्यक्तिसम्म पुर्याए ।
प्रतिव्यक्ति ९ हजार रुपैयाँमा सहमति भयो र सिनामंगलस्थित सूरिया हेल्थ केयरमा आउन आग्रह गरे । त्यसअनुसार ‘कोभर्ट अपरेशन’मा खटिएका अधिकृतहरुले तयार गरेका एक युवक मंगलबार १२ः३५ मा पीसीआर रिपोर्ट लिन प्रयोगशाला पुगे ।
त्यहाँ उनलाई ‘तपाईले चाहिँ स्वाब दिनुपर्छ । चारै जनाको रिपोर्ट आउँछ’ भनियो । उनले स्वाब दिए । २ः२५ बजे चारै जनाको पीसीआर नेगेटिभ रहेको रिपोर्ट हात लाग्यो ।
त्यो सूचना पाउनासाथ छापा मार्दा थुप्रै नक्कली पीसीआर रिपोर्ट फेला पारिएको महाशाखाका प्रमुख एसएसपी खापुङ बताउँछन् ।
महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार प्रयोगशालाका मुख्य सञ्चालक सीपी श्री कुमार हुन् । अहिले उनी फरार छन् ।
छापा मार्ने क्रममा प्रयोगशालामै रहेका प्राविधिक सल्लाहकार खडानन्दप्रसाद (केपी) सिंह, म्यानेजर प्रमोद यादव, कर्मचारी बादल मिरिङ छिङ, अमनकुमार यादव, ओजेश पोख्रेल र मेरिट मल्टिकेयर मेडिकलका सरोज क्षेत्री चाहिँ पक्राउ परेका छन् ।
महाशाखाका डीएसपी रेग्मीकाअनुसार कोरोना महामारीका अवधिमा फर्जी रिपोर्ट दिएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा अधिकृतहरुका अनुसार यो प्रयोगशालामा केही मेनपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने मानिसहरुलाई पीसीआर जाँचका लागि यहाँ पठाउने गरेका थिए ।
तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट पनि कोरोना परीक्षण यही गराउने गरेको पाइएको छ । स्वाब संकलनका लागि अस्पतालमा सूरिया हेल्थ केयरको बुथ नै छ ।
एक अनुसन्धान अधिकृत भन्छन्, ‘पक्राउ परेका प्राविधिक सल्लाहकार केपी सिंह कान्तिपुर अस्पतालका कार्यकारी निर्देशक रहेछन्, त्यही भएर सूरियामा पठाउने गरिँदोरहेछ ।’
पीसीआर नेगेटिभ भएको नक्कली रिपोर्ट बनाएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भन्दै अपराध महाशाखाले सूरिया हेल्थकेयरलाई दिएको अनुमति खारेजका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुलाई आग्रह गरेको छ ।
त्यसअनुसार तत्काललाई प्रयोगशालाको लाइसेन्स निलम्बन गरिसकिएको जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुणा झाले बताइन् । उनकाअनुसार अनुसन्धानबाट कसूर प्रमाणित भए लाइसेन्स खारेज हुनसक्छ । ‘हामीले गर्न सक्ने कारबाही यति नै हो, कसूर प्रमाणित भए प्रहरीले पनि कडा कारबाही गरोस्’, झा भन्छिन् ।