१२ वैशाख,
बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ। पछिल्लोपटक आइतबार बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २:३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयू शय्यामा एक अधबैंसे महिला आलाप-विलाप गरिरहेकी थिइन् । आईसीयू मनिटरको चर्को आवाजले बोली प्रष्ट नसुनिए पनि ‘मेरो मुटुको टुक्रा…मेरो मुटुको टुक्रा…’ भनेको विरक्त चिच्याहट बाहिरसम्म सुनिइरहेको थियो ।
उनी बोलिरहँदा बेडमा रहेका अन्दाजी बीस-पच्चीस वर्षका युवाको शरीर अनियन्त्रित थियो । अक्सिजन सपोर्टमा छट्पटाइरहेका ती युवा आˆनो भएभरको शक्ति खर्चेर बाँच्नको लागि संघर्ष गरिरहेका थिए । रातो कुर्ता सलवारमा भएकी ती महिलाको भावभंगीले ठूलो संकट बोलिरहेको थियो । शायद उनी आमा थिइन् ।
यो बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयूमा शनिबार देखिएको दृश्य हो । १८ जना गम्भीर किसिमका कोरोना संक्रमित राखिएको उक्त आईसीयू वार्डमा शनिबार मात्रै चार संक्रमितको मृत्यु भयो । सोही अस्पतालका अन्य वार्डमा गरेर गएको दुई दिनमै त्यहाँ १२ जना संक्रमितले ज्यान गुमाए ।
बाँकेमा हाल दुई हजार १२८ सक्रिय सङ्क्रमितमध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। छयासी सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ। तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ।
यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, छ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइटहाउस आइसोलेसन र नौ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ। बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।