१४ बैशाख २०७८,
दाेस्राे लहरकाे कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यससँगै गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो । बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
उपत्यकाबाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्न खोजिएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “एक हप्तासम्म आन्तरिक उडान सञ्चालन गरेर हेर्न खोजिएको हो ।” बैठकले अन्तर्राष्ट्रिय उडानबाट आएका विदेशीलाई होटलमा राख्ने र नेपाली नागरिकलाई घरमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको जानकारी मन्त्री अर्यालले दिनुभयो ।
बैठकले पठनपाठन अनलाइनमार्फत मात्रै सञ्चालन गर्न र अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।