१५ बैशाख,
अर्बपति एलन मस्कको कम्पनी टेस्लाले कीर्तिमानी रुपमा कार डेलिभरी गर्दा नाफा पनि बढेको छ। बीबीसीका अनुसार विश्वभर कम्प्युटर चिप्सको अभावले उत्पादनमा कठिनाइ पारे पनि टेस्लाको नाफा बढेको हो।
पहिलो तीन महिनामा कम्पनीले ४३ करोड ८० लाख अमेरिकी डलर नाफा आर्जन गरेको हो। जुन गत वर्षको सोही अवधिमा भएको १ करोड ६० लाख अमेरिकी डलरको तुलनामा निकै बढी हो।त्यसो त कम्पनीको नाफा केवल कार बिक्रीबाट मात्रै बढेको होइन। यसमा बिटक्वाइनको पनि योगदान रहेको छ। कम्पनीले डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेको थियो। यसको मूल्य बढेसँगै कम्पनीको आम्दानीमा १० करोड १० लाख डलर योगदान भएको छ।
मस्कले टेस्लाको मोडल ३ मध्यम आकारको सेडान कारलाई यो अवधिमा सर्वाधिक बिक्री र लोकप्रिय भएको कार भएको दाबी गरेका छन्। यो वर्ष साढे ७ लाख कार बेच्ने योजना टेस्लाको छ ।
टेस्ला अहिले अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो र यसको बजार मूल्य विश्वका सातवटा सबैभन्दा ठूला गाडी निर्माता कम्पनीको संयुक्त मूल्यभन्दा पनि धेरै छ ।
टेस्लाले आफ्ना नयाँ कारखानाहरु जर्मनी तथा अमेरिकाको टेक्सासमा निर्माण गरिरहेको छ ।