१६ बैशाख,
कोरोना संक्रमण रोकथाम गर्न १५ दिन निषेध आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णय छ । काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा गर्ने भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोभिड नियन्त्रणका लागि सङ्क्रमितको सङ्ख्याका आधारमा निषेध आदेश जारी गर्न सक्ने निर्णय बैठकले गरेको हो । कोरोना संक्रमणको लक्षण पहिचान गर्न कम्तिमा पनि १४ दिन लाग्ने भएकाले सो निर्णय गरिएको बताइएको छ ।
पहाडी तथा हिमाली जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्नसक्ने र काठमाडौँ उपत्यका लगायत तराई क्षेत्रमा ५ सय भन्दा बढी नयाँ संक्रमण देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सोही आदेश जारी गर्न सक्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।
बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय गरेको छ । उपत्यका बाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो । मन्त्रिपरिषदले सीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।