१७ बैशाख,
चीनले अन्तरिक्षमा नयाँ स्पेस स्टेसन बनाउन सुरुवात गरेको छ। आगामी वर्षबाट संचालनमा आउने गरी काम भइरहेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ।
नयाँ तियानगङ स्पेस स्टेसनका लागि हालै वेनचाङ स्पेस लन्च सेन्टरबाट लङ मार्च–५ बी रकेटमा आवश्यक सामग्रीहरु पठाइएको छ।स्पेस स्टेसन नबनिन्जेल रकेटमा अन्तरिक्षयात्री बस्न मिल्ने मोड्युल तथा सामग्रीहरु पठाइनेछ। यस स्पेस स्टेसनमा अन्तरिक्षयात्रीले अन्तरिक्ष अध्ययनका क्रममा त्यहाँ बास लिनेछन्। रकेटबाट अन्तरिक्षमा पठाइएका सामगी्रहरुलाई अन्तरिक्षयात्रीले नै जोड्ने बताइएको छ। यो स्पेस स्टेसन १० वर्षसम्म संचालनमा आउने बताइएको छ।
हाल विश्वमा एउटै स्पेस स्टेसन संचालनमा छ। इन्टरनेसनल स्पेस स्टेसन आइएसएस अमेरिका, रुस, जापान, युरोप र क्यानडाको प्रोजेक्ट हो। तर यसमा चीनलाई पहुँच दिइएको छैन। जसका कारण चीनले आफैंले स्पेस स्टेसन बनाइरहेको हो। आइएसएस सन् २०२४ सम्म मात्र संचालनमा आउनेछ।
चीनले अन्तरिक्षको मामिलामा सबैभन्दा पछि कदम चालेको थियो। सन् २००३ मा बल्ल चीनको अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेका थिए। चीनभन्दा धेरै अगाडि रुस र अमेरिकाले यो उपलब्धि हासिल गरिसकेका थिए। यसअघि पनि चीनले दुई स्पेस स्टेसन बनाएको थियो। तियानगङ–१ र तियानगङ–२ परीक्षण प्रयोजनका लागि मात्र सिमित थिए।