प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी !

२१ वैशाख,

काठमाडौं । विशेष अधिवेशनमार्फत विश्वासको मत लिन संसदमा जाने प्रधानमत्री केपी शर्मा ओलीको कदमपछि विपक्षी दलहरुबीच फेरि अविश्वासको प्रस्ताव दर्ताको बहस सुरु भएको छ ।

स्रोतका अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी रणनीतिबारे सम्वाद भएको थियो । मंगलबार कांग्रेस पदाधिकारीहरुको बैठक बस्यो भने माओवादी नेताहरुले राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरे ।

कांग्रेस सभापति देउवा निवास वूढानीलकण्ठमा बसेको पदाधिकारीहरुको बैठकमा ओलीको सम्भावित कदम र त्यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा नेताहरुले प्रधानमन्त्रीले ओलीले विश्वासको मत लिने योजनाका साथ विशेष अधिवेशन नरोजेको दाबी गरेका छन् । ‘विश्वासको मत लिन  चाहेको भए त नियमित अधिवेशनमै लिइहाल्थे’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘विश्वासको मत नलिने, संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाउने र त्यसले पनि विश्वासको मत नपाएपछि संसद भंग गर्ने, मध्यावधि घोषणा गर्ने र अध्यादेशमार्फत बजेट ल्याउन खोजेको देखिन्छ ।’

बैठकले विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि दलहरुवीच सल्लाह हुने भन्दै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, विश्वासको मतलाई फेल गराउने पहिलो लक्ष्य हो ।’ त्यसपछि बैकल्पिक सरकारको बाटो खुल्ने उनले सुनाए ।

माओवादी केन्द्रका एक नेताका अनुसार नयाँ सरकार गठनका लागि बाटो खुला राख्न अहिले नै अविश्वासको प्रस्ताव दर्ता गरिराख्न कांग्रेस नेताहरुसँग छलफल भइरहेको छ ।

नेकपा एमालेमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने नयाँ बिकल्पमा छलफल चलिरहेको छ ।

अहिले नै कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिराख्ने हो भने नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गर्न सहज हुने नेताहरुको दाबी छ ।

ओलीलाई सत्ताच्यूत गर्न हरसम्भव उपाय अपनाउन तयार भएका बिपक्षी दलहरुले ओलीले चाल्नसक्ने सम्भावित कदमलाई रोक्न अश्विासको प्रस्तावा सबैभन्दा बलियो हतियार हुने ठानेका छन् ।

तर  कांग्रेस सभापति देउवाले अविश्वासको प्रस्ताव दर्ता गर्ने नगर्ने केही निर्णय दिइसकेका छैनन् । अविश्वास प्रस्तावका लागि देउवालाई मनाउन माओवादी अध्यक्ष प्रचण्ड र जसापाको उपेन्द्र–बाबुराम पक्षले दुई महिनादेखि कोसिस गरिरहे पनि अहिलेसम्म देउवाले आफुलाई बैकल्पिक प्रधानमन्त्रीका रुपमा अघि सार्न हिम्मत गरिरहेका छैनन् ।

Share post:

Recent