राष्ट्रपतिलाई माधव नेपालको जवाफ : ओली एक्लै चल्ने, मलाई दोष ?

२४ वैशाख,

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् ।

बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले फोनमा अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना गरेको नेता नेपाल निकट स्रोतले बतायो ।

‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको जवाफ पछि राष्ट्रपति भण्डारीसँग छुट्टै कुराकानी भएको थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठोस थिएन’, स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलिएको गुनासो गरेकी थिइन् । ‘तपाईं सिनियर नेता हुनुहुन्छ । तर पार्टी जोगाउनेगरी पहल लिनु भएन’ ।

स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै चल्ने अनि मलाई दोष दिएर हुन्छ ?’ भनी प्रश्न गरेका थिए । ओली पार्टी अध्यक्ष भएकाले एकताको पहल पनि उनले नै गर्नुपर्ने नेता नेपालले बताएका थिए । ‘म पार्टी प्रमुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? मिलाएकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानीबारे स्रोतले भन्यो ।

Share post:

Recent