देउवा : ओली सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ

२५ वैशाख,

काठमाडौं । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको सांसदहरुले बताएका छन् । उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार बिहान पदाधिकारी बैठक बसेको थियो भने दिउँसो संसदीय दलको बैठक । दुवै बैठकमा सभापति देउवा यसअघिभन्दा प्रष्टताका साथ प्रस्तुत भएको कांग्रेस नेताहरुले बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकको शुरुमा बोलेका सभापति देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन निर्देशन दिए ।

त्यसपछि दिलेन्द्रप्रसाद बडू, गगनकुमार थापा लगायतका सांसदहरुले आफ्नो धारणा राखे । उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने मत राखेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर संसद भंग गर्नसक्ने विश्लेषण सुनाएका देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत आशंका व्यक्त गरे ।

प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गर्दै बैठकले विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गरेको छ ।

स्रोतका अनुसार बैठकको निर्णयमा अविश्वासको प्रस्ताव दर्ताबारे लेख्ने कि नखेल्ने भनेर छलफल भएको थियो । सभापति देउवाले ‘यो निर्णय लेख्ने भन्दा पनि गर्ने हो, त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ’ भनेका थिए ।

Share post:

Recent