२५ बैशाख,
नेपालमा गत २४ घण्टामा थप ८,४१८ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। हालैका दिनहरूमा सङ्क्रमण घटेको यो पहिलो पटक हो। शुक्रवार ९,१९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार सो अवधिमा थप ५३ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। हालसम्म कुल ३,६३२ जनाको मृत्यु भइसकेको छ भने ३,३७० जना सङ्क्रमणमुक्त भएका छन्।
सरकारको तथ्याङ्कअनुसार शनिवार अपरान्हसम्म देशभरि ८३,४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ। अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।
गत बुधवार र बिहीवार सांसदहरूसहित १,२३५ जनाको संसद् भवन नयाँ बानेश्वरमा गरिएको परीक्षणमा १६० जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार २०५ जना सांसदको परीक्षण गरिएकोमा १९ जना सांसदमा सङ्क्रमण पुष्टि भएको हो। दुई मन्त्रीसहित आठ सांसद यसअघि नै सङ्क्रमण पुष्टि भई आइसोलेशनमा रहेका छन्।
बाँकी १,०३० जना सङ्घीय संसद् सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र संसद् भवनका कर्मचारीको परीक्षण गरिएको थियो।