नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाइएको हो।

प्रधानमन्त्री केपी ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो। विश्वासको मत नपाएपछि स्वत: प्रधानमन्त्री ओली पदमुक्त भएका छन्। विश्‍वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्‍न भन्‍ने वा तटस्थमा १५ मत परेको छ। संसदमा जम्मा २३२ सांसद उपस्थित थिए।

प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्‍वासको मत दिएनन्। एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्‍वासको मत लिने ओलीको कदमलाई असहयोग गरेका छन्। जसपामा विश्वासको मतको पक्षमा बाबुराम-उपेन्द्र समूहले मतदान गरेपनि ठाकुर र राजेन्द्र महतो पक्ष तठस्थ बसेका थिए।

Share post:

Recent