वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ : बाबुराम भट्टराई

काठमाडौँ —

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताएका छन् ।

भट्टराईले संविधानको धारा ७६(२) बमोजिम नै सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने बताए छन् । त्यस्तै दलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, कोरोना नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोग/मुद्दा, संविधान संशोधन र आर्थिक राहतका विषयमा साझा न्यूनतम कार्यक्रम लागू गर्न सकिने पनि उनको भनाइ छ । त्यस्तै यस सरकारले १ वर्षभित्र चुनाव गराउनुपर्ने पनि भट्टराईको भनाइ छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेकी छिन् । तर प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन अग्रसर भए पनि बहुमत सदस्य जुटाउन सकस पर्ने देखिएको छ ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको फरक अडानले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि बढेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत संख्या पुर्‍याउन कठिन भएको हो ।

ठाकुर–महतोले साथ दिने संकेत नमिलेपछि मंगलबार विपक्षी गठबन्धनको बैठक बस्न सकेन । कांग्रेस पदाधिकारीको बैठकले जसपाको ठाकुर पक्षलाई मनाउन नसके एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदको सामूहिक राजीनामा दोस्रो विकल्प हुन सक्ने भन्दै छलफल अघि बढाउने निष्कर्ष निकालेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बहुमत जुटाउन अनौपचारिक र औपचारिक तहमा सबै पक्षसँग छलफल भइरहेको छ ।

Share post:

Recent