किन ल्याए भट्टराईले प्रधानमन्त्रीमा नयाँ उम्मेदवारको प्रस्ताव?

३० बैशाख, काठमाडौँ। कहिल्यै शान्त रहन नपाउने नेपाली राजनीतिको तलाउमा बुधबार बिहान जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एउटा ढुंगा फ्याँके। जसका कारण नेपाली राजनीतिक वृत्तमा अर्को तरंग थपियो। उनले बुधबार सबेरै ‘देशको संकट हल गर्न यसो गरौं’ भनी एउटा चारबुँदे ट्वीट गरे।

१. ‘धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र बर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा भएको मतदानमा विश्वासको मत गुमाएपछि बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा बिहीबार सकिँदै छ। बैशाख ३० गते बेलुका ९ बजेसम्म संसदमा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभामा रहेका बहुमत सांसदहरु सहित राष्ट्रपति समक्ष बहुमतको दाबी गर्न निवेदन पेस गर्न आह्वान भएपछि नेपाली कांग्रेस बहुमतको सरकार बनाउने दौडधुपमा छ। माओवादी केन्द्रको समर्थन पाएका कांग्रेस सभापति शेरबहादुर देउवा संसदमा ३२ सांसद रहेको जसपाको निर्णयको प्रतीक्षामा छन्।

तर सरकार बनाउन निर्णायक रहेको जसपाकै संघीय परिषद् अध्यक्ष डा. भट्टराईले पूर्वप्रधानमन्त्री बाहेकबाट राष्ट्रिय सरकार बनाउने प्रस्ताव किन गरे? बुधबार बिहानबाट यो चर्चाले नेपाली राजनीतिक वृत्तलाई ततायो।

भट्टराईनिकट एक नेताका अनुसार पार्टीभित्र महन्थ ठाकुर–राजेन्द्र महतोलाई समेत नयाँ सरकार गठनमा सहभागी गराउने योजनासहित सो ट्वीट गरिएको हो। ‘भट्टराईजीले पार्टीका सबै नेताहरुलाई एकै ठाउँ ल्याउन सो धारणा सार्वजनिक गर्नुभएको हो,’ ती नेताले भने।

‘नयाँ राष्ट्रिय सरकार बनाएर देशका यावत समस्या समाधान गर्नुपर्छ भन्ने डा. सावको मनसाय हो,’ पोखरेलले भने, ’ राष्ट्रिय सहमतिको सरकार भनेपछि ओली पक्षलाई समेत विश्वासमा लिने भट्टराईको चाहना हो।’ त्यसो त राष्ट्रपतिले सुरुमै राष्ट्रिय सरकार बनाउन दलहरुलाई आग्रह नै नगरेकोप्रति भट्टराईले संकेत गरेका हुन्। ‘प्रधानमन्त्री ओलीले संसदमा विश्वास गुमाएपछि सुरुमै राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकारको आह्वान गर्नुपथ्र्याे त्यसो भएन,’ पोखरेलले तर्क गरे, ‘बहुमतभन्दा पनि अहिलेको आवश्यकता पुरा गर्न संसदमा रहेका सबै दलको सरकार बनाऊँ भन्ने हो।’

त्यही आधारमा भट्टराईले चुनावको कुरा गरेको पनि उनले जिकिर गरे। भट्टराईले सोहि ट्विटमा एकवर्षभित्र चुनाव गर्न सुझाएका छन्।
२. ‘दलका प्रमुख/पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम/कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत ४. एक वर्षभित्र चुनाव,’ उनले सो रोडम्यापअनुसार गर्नुपर्ने भनी थप सुझाव दिएका छन्।

तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेतृत्वको पक्षले भने नयाँ सरकार निर्माणको लागि आफूहरु नलाग्ने भन्दै बुधबार दिउँसो राष्ट्रपति विद्योदेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ। तटस्थ बस्ने भनेका ठाकुर र महतोको दौडधुप जसपाको भट्टराई–यादव पक्षलाई रोक्ने योजनामा छन्। त्यसअनुसार घटनाक्रम विकसित हुन नदिन भट्टराई सक्रिय छन्। उनले बुधबार दिउँसो ठाकुर र महतोसँग पार्टी कार्यालयमा छलफल पनि गरेका थिए।

ओलीलाई हटाई छाड्ने भट्टराई र यादव पक्षको अडान र ओलीलाई साथ दिने ठाकुर र महतो समूहको जोडका कारण जसपा विभाजनको डिलमा पुगेको छ। यस्तो जटिल अवस्थामा पहिले प्रधानमन्त्री बनिसकेको व्यक्तिभन्दा अन्य व्यक्तिलाई प्रधानमन्त्री बनाऔं भन्ने प्रस्ताव अघि सारेर ठाकुरलाई त्यसप्रति आकर्षित गर्ने रणनीति हुने जसपाका केहि नेताहरुको अनुमान छ। यसबाट ठाकुर–ओली निकटतामा केहि प्रभाव पार्न सकिने र पार्टी एकता पनि कायम राख्न सकिने उनको आशा हुनसक्ने ती नेताहरु बताउँछन्।

Share post:

Recent