३० बैशाख, काठमाडौँ । इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । इजरायली सेनालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले प्यालेस्टिनी विद्रोही समूह हमासले अहिलेसम्म १ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाएको छ ।
हमासका नेता इस्माइल हानियाले टेलिभिजनमार्फत सम्बोधन गर्दै भनेका छन्, ‘कतार, इजिप्ट र संयुक्त राष्ट्र संघले सम्पर्क गरी हामीलाई शान्ति स्थापनाका लागि अपिल गरेका छन् । हामीले इजरायललाई यो सन्देश दिएका छौं कि उनीहरु द्वन्द्व चाहन्छन् भने त्यसका लागि हामी तयार छौं । यदि यसलाई उनीहरु रोक्न चाहन्छन् भने त्यसका लागि पनि हामी तयार छौं।’
बीबीसीका अनुसार अहिलेसम्म दुवै तर्फका गरी कम्तीमा ४० जना मारिएका छन् । इजरायली सेनाले गाजाका १५० ठाउँमा आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई द्वन्द्व कम गर्न अनुरोध गरेका छन् । बुधबार यसै विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बसेको थियो ।
इजरायली रक्षामन्त्री बेन्नी गान्ट्जले भने ‘इजरायली आक्रमणको सुरुवात मात्र’ भएको बताएका छन् । चरमपन्थी समूहलाई परास्त गरेर दीर्घकालीन रुपमै आफूहरुले शान्ति पुन:स्थापना गर्ने उनको दाबी छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसअघि मंगलबार हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका थिए । । सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन् ।
जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।
सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो । हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।
सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।
यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।