३० बैशाख, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतको सरकार निर्माणका लागि दिएको समय सकिएको छ।
बहुमतको सरकार गठन गर्ने समय सकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको रुपमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्दै छन्। उनले एक महिनाभित्र संसदमा बहुमत सावित गर्नुपर्ने छ। प्रतिनिधिसभामा १ सय २१ सिट रहेका एमाले सबैभन्दा ठूलो दल हो।
स्रोतहरुले बिहीबार राति नै राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने जनाएका छन्। उनले शुक्रबार सपथ गर्ने र मन्त्रीहरु नियुक्त गर्ने छन्। वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासका मत लिन राखेको प्रस्ताव असफल भएको थियो। त्यसपछि ओली काम चलाउ प्रधानमन्त्री बनेका थिए।
राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन्। जुन आज बिहीबार राति नौ बजे समाप्त भएको छ। त्यसबीचमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराईले बहुमतका सरकार बनाउने कोसिस गरेका थिए। तर सो दलका महन्थ ठाकुर र राजेन्द्र महतोले ओलीको पक्ष लिएपछि नयाँ सरकार बन्न सकेन।
त्यसैगरी प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहँदै आएको माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा गरेर वैकल्पिक सरकारका लागि बहुमत पुरयाउने कोसिस भएको थियो।
तर नेपाल समूह र प्रधानमन्त्री ओलीबीच बिहीबार पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्ने विषयमा सहमति भएपछि त्यो सम्भावना पनि टरेको हो। जसका कारण वैकल्पिक सरकारका लागि विपक्षी दलहरुले राष्ट्रपति भण्डारी समक्ष दाबी प्रस्तुत गर्न नै सकेनन्।