दुवै डोज खोप लगाएपछि मास्कबाट मुक्ति ! यस्तो छ वैज्ञानिक कारण

२ जेठ, काठमाडौं । कोरोना भाइरस विरुद्धका खोपका दुवै डोज लगाएपछि समेत मास्क हटाउन नमिल्ने भनेर विज्ञ तथा अधिकारीले यसअघि बताउँदै आएका थिए । तर युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकाभरका स्वास्थ्यकर्मीहरुमा गरेको व्यापक अध्ययनबाट पूर्ण खोप ग्रहण गरेका मानिसहरु सामान्यतः मास्क बिनै हिड्न सक्ने ठहर गरेको हो ।

कोरोना विरुद्धको खोप अभियानको सुरुवातमै अमेरिकामा स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइन वर्करहरुलाई खोप लगाइएको थियो । त्यस क्रममा लगाइएका मोडेर्ना र फाइजर खोपको पूर्ण मात्रा लिएका व्यक्तिहरु कोभिड संक्रमणबाट ९४ प्रतिशत सुरक्षित भएको अध्ययनले देखाएको छ । जबकि एक डोज मात्रले पनि मानिसहरुलाई ८४ प्रतिशत सुरक्षा प्रदान गर्ने देखिएको सिडिसीको साप्ताहिक रिपोर्टमा उल्लेख छ ।

सिडिसीका निर्देशक डाक्टर रेचेल वालेन्स्कीका अनुसार यो पछिल्लो अध्ययनबाट कसले र कहिले मास्क लगाउनुपर्ने भन्ने विषयमा यसअघि दिइने सुझावहरु खुकुलो बनाउन सघाउ पुगेको छ । सिडिसीका अनुसार कोभिड १९ भ्याक्सिनहरु कोरोना भाइरस संक्रमण रोक्न, सिकिस्त विरामी हुन तथा मृत्युबाट समेत जोगाउनका लागि प्रभावकारी सावित भएका छन् ।

पूर्ण खोप लगाएका मानिसहरुले समेत आफ्नो नाक, मुख, घाँटी, स्वास तथा थुक लगायतमा भाइरस बोक्ने र उनीहरुबा अन्य मानिसहरुमा भाइरस सर्ने जोखिम रहेको बताउने गरिएको थियो । तर पछिल्लो अनुसन्धानले पूर्ण खोप लगाएका मानिसहरुले यसरी भाइरस बोक्ने सम्भावना नरहेको पुष्टि भएको छ ।

यसको कारण हो भाइरल लोड । हालसम्मका कम्तिमा ३ वटा अनुसन्धानले के देखाएका छन् भने पूर्ण रुपमा खोप लिएका मानिसहरुमा कोरोना भाइरस संक्रमण हुने सम्भावना निकै कम हुन्छ । यसको अर्थ पूर्ण खोप लगाएका व्यक्तिले आफ्नो शरीरमा भाइरस बोक्दैनन् चाहे लक्षणयुक्त होस् वा लक्षण वीहिन ।

सिडिसीका साथै इजरायलमा गरिएको अध्ययनले समेत पहिलो डोज मात्र खोप लगाएका मानिसहरु संक्रमित भैहाले पनि उनीहरुको शरीरमा भाइरल लोड निकै कम हुन्छ । अर्थात् खोप लगाएका संक्रमितको शरीरमा भाइरसको संख्या खोप नलगाएकामा भन्दा ४ गुणा कम हुन्छ । यसले त्यस्ता मानिसहरुबाट अन्य मानिसमा भाइरस सर्ने जोखिम पनि कम हुन्छ ।

विज्ञहरुका अनुसार अमेरिकामा हाल झण्डै ४७ प्रतिशत मानिसले कम्तिमा एक डोज खोप लगाइसकेका छन् भने ३६ प्रतिशतले दुबै डोज लगाइसकेका छन् । जोखिममा रहेका धेरै मानिसहरुले खोप लगाएको हुनाले अमेरिकामा कोभिड संक्रमणको दर निरन्तर ओरालो लागिरहेको छ । त्यसैले पूर्ण खोप लगाएका मानिसहरुले मास्क लगाउनु नपर्ने गरी धेरै राज्यहरुमा नियम खुकुलो बनाइँदैछ ।

Share post:

Recent