जसपा तत्काल सरकारमा नजाने, आफैँले नेतृत्व गर्न पाए अघि बढ्ने

४ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ। तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था भए त्यसका लागि अघि बढ्ने निर्णय गरेको छ। सो सहमतिबारे पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक संयुक्त वक्तव्य नै जारी गरेका छन्। दुई नेताबीच समायोजन हुन नसकेका पार्टी कमिटी, भ्रातृ संगठनबीच समायोजन गर्ने पनि सहमति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावमा पदाधिकारी बैठकले सहमति गरेर सांसदलाई स्वविवेकको अधिकार दिएको विज्ञप्तिमा उल्लेख छ। तर यो अवसरलाई दूरुपयोग गरेर पार्टीका केही नेतृत्वबाट नै गुट-उपगुट खडा गर्नेगरी गुटवन्दी गर्दै संचारमाध्यमा दिएका अभिव्यति प्रति ध्यानाकर्षण भएको ठाकुर र यादवले बताएका छन्। पार्टीका गतिविधि विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरुप गर्नु पर्ने उनीहरुको भनाई छ।

विज्ञप्तिमा भनिएको छ – ‘पार्टीमा कसैले व्यक्तिगत स्वार्थ सिद्ध गनर्का लागि गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने, पार्टी नेताहरुका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार प्रकृतिहरुलाई अन्त्य गरी पार्टीलाई एकतावद्ध राख्नुपर्छ।’

अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच एकताको विन्दु खोज्नेतर्फ छलफल अघि बढेको छ।तीन नेताको पटक पटकको टेलिफोनवार्ता र आज विहान ठाकुर र यादवबीच भएको छलफलपछि तत्कालको मिलन विन्दु निकालिएको हो। ठाकुर र यादवबीच आइतबार पार्टी कार्यालयमा सहमतिका लागि छलफल भएको थियो।

यादवको पार्टी विभाजन रोक्न सहमति गरेर अगाडि बढौं भन्ने प्रस्तावमा ठाकुरले साथीहरुसँग छलफल गरेर पुन: बस्ने जवाफ दिएका थिए। यस अघि यादवले कार्यकारिणी बैठक बोलाएपछि ठाकुरले त्यसप्रति आपत्ति जनाउँदै बैठक नबोलाएको विज्ञप्ति जारी गरेका थिए।

ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गरेपछि यादवले संसदीय दलको बैठक नबसेको र दलको नेता चयन नगरेको विज्ञप्तिमार्फत जनाएका थिए। पछिल्लो समयमा दुबै अध्यक्षले पार्टीको छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका थिए।

Share post:

Recent