५ वैशाख, काठमाडौं । कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ । पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ । लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले जानकारी दिए ।
कोरोना संक्रमण बढेसँगै नेपालमा यसको माग उच्च छ । तर माग अनुसारको आपूर्तिमा भने सहज छैन । भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि अहिले बंगलादेशबाट आयात हुने गरेको महासचिव अधिकारीले बताए ।
तर आयातले समेत नधान्ने अवस्था सिर्जना भएको छ । बजारमा प्रसस्तै नभेटिदा यसको कालोबजारी बढ्दै गएको छ । बुधबार मात्रै पनि रेम्डिसिभिर कालोबजारी गरेको अभियोगमा एक जना कारागार चलान भएका छन् ।
कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन अनुसार सेवक फार्मेसीका सञ्चालक रसिक मिया बुधबार पुर्पक्षका लागि जेल चलान भएका हुन् । नेपाल प्रहरीको अपराध महाशाखाले २३ वैशाखमा उनलाई बसुन्धारा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि ६ थान रेम्डिसिभिर औषधि ३० हजार पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोप लागेको थियो ।
नेपालमा यसको उत्पादन भएपछि कालोबजारीको समस्या पनि नहुने महासचिव अधिकारी बताउँछन् । उनका अनुसार यसको उत्पादनका लागि अन्य औषधि उत्पादक कम्पनीहरु पनि लाइसेन्सको पर्खाईमा रहेका छन् ।
अहिले सरकारले प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने गरी मूल्य तोकेको छ । कोभिड-१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले खरिद गरेको रेम्डिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।
मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाण सहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रेस्क्रिप्शन लिएर जानुपर्ने छ । औषधि व्यवस्था विभागका अनुसार आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले वैशाख २१ गते बंगलादेशबाट ३००० भाइल रेम्डिसिभिर आयात गरेको थियो ।